आयोजना प्रभावितलाई बाख्रा पालन तालिम

चितवन, २७ वैशाख । नारायणगढ–मुग्लिङ सडक आयोजनाको संयोजनमा आयोजना प्रभावित स्थानीयलाई आयआर्जन मूलक व्यावसायिक बाख्रा पालन तालिम प्रदान गरिएको छ । आयोजनाबाट प्रभावित भइ सडक किनारबाट बिस्थापित भएका बासिन्दालाई जीवन उपयोगी सीप प्रदान गर्ने कार्यक्रम अन्तर्गत कविलासको जुडेडीमा बाख्रा पालन तालिम प्रदान गरिएको थियो ।

IMG_3272नारायणगढ–मुग्लिङ सडक आयोजनाले सडक मापदण्डमा परेका ५६ घर परिवारलाई मुआब्जा दिएर हटाइसकेको छ । आयोजनाबाट प्रभावित भएका घरपरिवारको इच्छा अनुसार तालिम प्रदान गरिएको आयोजनाका सामाजिक एकाई विशेषज्ञ शिवराम सेढाईले बताए । प्रभावित समुदायमा पुगेर उनीहरुको इच्छा बुझ्दा १८ परिवारले बाख्रा पालनमा इच्छा देखाएको कारण उनीहरुको इच्छा अनुसार नै बाख्रा पालन तालिम दिएको सेढाईको भनाइ थियो ।

सोमबार तालिम समापन गर्दै सहभागीहरुलाई प्रमाणपत्रको साथमा बाख्रा पालन पुस्तिका र औषधि उपचारको बाकस समेत प्रदान गरिएको छ । तालिम पश्चात आयोजना पूरा नहुने बेलासम्म सहभागीहरुको निरन्तर सर्वेक्षण र मूल्यांकन गर्ने र आवश्यक सहयोग समेत थप गर्दै जाने सेढाईले बताए ।

कार्यक्रममा क्षेत्रीय पशु सेवा निर्देशनाल हरिहर भवनका निर्देशक डाक्टर महेशराज विष्टले व्यावसायिक रुपमा बाख्रा पाल्नको लागि कम्तीमा पनि २० वटा बाख्रा पालन गर्नुपर्ने बताए । स्थानीय जातको बाख्रा पाल्दा निर्वाहमुखी हुने भएकाले उन्नत जातको बाख्रा पाल्नको लागि विष्टले सहभागीलाई आग्रह गरे ।

कार्यक्रममा जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख वरिष्ठ पशु चिकित्सक डाक्टर रामकुमार कार्कीले सीप आफ्नो लागि भएकोले सिकेपछि फलदायी हुने बताए । तालिममा सिकेका विषयवस्तुलाई व्यवहारमा उतार्दै सहभागीहरु व्यावसायिक हुनुपर्नेमा कार्कीले जोड दिए । तालिममा सहभागी भएर व्यावसायिक रुपमा बाख्रा पालन गर्ने व्यक्तिलाई पशु सेवा कार्यालयबाट प्राविधिक सहयोग उपलब्ध गराइने कार्कीको भनाइ थियो ।

कार्यक्रममा कविलास गाविसका गाविस सचिव प्रद्युम्न कुमार खड्काले प्रभावितहरुलाई प्रदान गरेको तालिमहरुले उनीहरुको व्यवसायिक सीप वृद्धि गर्दै अर्थोपार्जनको लागि थप टेवा पुग्ने बताए । जिल्ला पशु सेवा कार्यालय चितवनका पशु विकास अधिकृत रुद्रकुमार श्रेष्ठको संयोजनमा व्यावसायिक बाख्रा पालन तालिम सञ्चालन भएको थियो ।

सात दिनसम्म सञ्चालन भएको तालिममा पशुविज्ञहरुबाट सहभागीलाई बाख्रा पालन सम्बन्धी सैद्धान्तिक ज्ञान प्रदान गरिएको थियो । तालिमको समापनका अवसरमा सहभागीको तर्फबाट आफ्ना धारणा राख्दै रामबहादुर घर्ती र राममाया श्रेष्ठले आफूहरुले पहिले परम्परागत तरिकाले बाख्रा पालन गर्दै आएकोमा अब व्यावसायिक तरिकाले बाख्रा पालन गर्ने बताएका थिए । तालिमबाट बाख्राको खानपिन, स्वास्थ्योपचारलगायतका विषयमा जान्ने अवसर मिलेको समेत उनीहरुको भनाइ थियो ।

मुग्लिङ–नारायणगढ सडक सुधार आयोजनाका सामाजिक विकास विज्ञ शिवराम सेढाईँको अध्यक्षतामा भएको कार्यक्रममा आयोजनाका नासु सूर्यप्रकाश रिमालले स्वागत मन्तव्य राखेका थिए ।