जनमुखी बजेट ल्याउने डरले सरकार ढाल्न खोजियो : महाचिव पोखरेल

चितवन, २५ वैशाख । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संविधान जारी नहोस् भन्नेहरुले नै अहिले एमाले नेतृत्वको सरकार गिराउने नाटक मञ्चन गरेको बताएका छन् । चितवनको भरतपुरमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै महासचिव पोखरेलले नेपाल सदियौंदेखि भारतवेष्टित भएर बस्नु परेको बताउँदै चीनसँग पारवाहन सम्झौता भएसँगै त्यसको अन्त्य भएको बताए । iswaor
हामीले एउटा छिमेकीसँग मिलेर अर्काे छिमेकीलाई चिडाउन नखोजेको उल्लेख गर्दै महासचिव पोखरेलले सबैसँग सन्तुलित सम्बन्ध राख्न खोजेको बताए । अबको राजनीति समृद्धि प्राप्तीको लागि हुनुपर्ने भन्दै पोखरेलले अधिकार प्राप्तीका लागि जनतालाई परिचालन गर्दै समाजवाद निर्माणका आधार तयार पार्नुपर्ने बताए । मुलुकको सार्वजनीतिक सम्पत्तीको अतिक्रमण हुन थालेकोले यसको रक्षा गर्न नेकपा एमालेले अगुवाई गर्नुपर्ने पोखरेलको भनाइ थियो ।
नेपाल आत्म निर्भर भएको देख्न नचाहनेहरुले नेपाली माथि श्रृंखलाबद्ध रुपमा युद्ध गरिरहेका पोखरेलको भनाइ छ । एमाले दृढतापूर्वक नउभिएको भए संविधान नआउने बताउँदै महासचिव पोखरेलले संविधान जारी नहोस् भन्न चाहनेहरु त्यति बेला पनि भएको बताउँदै तिनीहरु पराजित भएकै कारण संविधान आएको बताए । संविधानको कार्यान्वयनको लागि प्रमुख पार्टीहरु एक ठाउँमा उभिनु पर्दछ भन्ने एमालेको धारणा रहेको बताउँदै पोखरेलले सहमतिको राष्ट्रिय सरकार बनाउन एमाले बाधक नबन्ने बताए ।
मनमोहन अधिकारीको नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटले सामाजिक सुरक्षाका कार्यक्रम इतिहासमा नमेटिने गरी ल्याएको पोखरेलले उल्लेख गरे । अहिले पनि एमालेको नेतृत्वको सरकारले ल्याउने बजेट र नीति तथा कार्यक्रम त्यति बेलाको भन्दा पनि राम्रो आउँछ भन्ने लागेर नै सरकार गिराउन खोजिएको आरोप पोखरेलको थियो । उनले भने “एमालेले देखेका सपना अबको बजेट तथा कार्यक्रममा आउँछन् । देश बनाउने एमालेको सोच त्यसमा झल्किन्छ ।” अबको राजनीति भनेको समृद्धिको भएको बताउँदै पोखरेलले आर्थिक सामाजिक रुपान्तरणको बाटोमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
कार्यक्रममा नेकपा एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलियाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा माथिदेखि तलसम्म धाँजा हाल्ने मुर्खता कसैले गर्न नहुने बताउँदै पार्टीभित्र एकता आवश्यक रहेको बताए । विगतमा भएको गल्तीहरुबाट पाठ सिक्दै आन्तरिक एकतामा जोड दिनुपर्ने थपलियाको भनाई थियो । एमालेका कार्यकर्ताहरु कित्ता कित्तामा बाँडिदा जनताका लागि घातक हुने थपलियाले बताए ।