गौतम बुद्धलाई पनि पागल र मुर्ख भनिन्थ्योः डा. बाबुराम

 

चितवन, २५ वैशाख । नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ बाटोको कुरा गर्दा धेरैले पागल र दुस्साहसी बन्नुपरेको बताएका छन् ।

चितवनको वीरेन्द्र क्याम्पसमा आयोजित आमसभामा भट्टराईले नयाँ शक्तिमाथि लाग्ने गरेको आरोपलाई स्वभाविकरुपमा लिने गरेको बताए ।naya skati ko

‘नेपालमै आजभन्दा २७ सय वर्ष पहिला ज्ञानको खोजीमा निस्कँदा गौतम बुद्धलाई पनि पागलको संज्ञा दिइएको थियो’ उनले भने, ‘मैले नयाँ शक्ति दुरदृष्टि राखेर अगाडि ल्याउँदा हामीलाई अहिले मुर्ख, पागल र दुस्साहसी भनिएको छ, यसलाई मैले अस्वभाविकरुपमा लिएको छैन ।’

पूर्वप्रधानमन्त्री डा.भट्टराईले अहिलेको राजनीतिक समीकरणले देश विकास हुन नसक्ने बताए । उनले भने, ‘संसदमा कुनै पनि पार्टीको बहुमत छैन । हामीले देखेकै छौं, सबैले सत्तामा जानको लागि मरिहत्ते गरिहेका छन् ।’

पुरानै मान्छेहरु सत्ताको लोभमा कुर्सीको लुछाचुडी गरेर बस्ने तर मुलुकको समस्यालाई बेवास्ता गर्ने प्रवृत्तिले मुलुक पछाडि परिरहेको उनले बताए । ‘संविधानमा देखिएको असन्तुष्टि हल गर्न तत्काल मधेसको जायज मुद्दाहरु सम्बोधन हुनुपर्छ’ उनले भने, ‘निर्वाचन प्रणाली र शासकीय स्वरुपमा पनि संशोधन गरेर नयाँ निर्वाचनमा जानुपर्छ ।’

संयोजक भट्टराईले नेपालको आन्तरिक समस्यामा छिमेकीहरुलाई अनावश्यकरुपमा तान्न नहुने धारणा राखे । ‘आन्तरिक मामिलामा छिमेकीहरुलाई तान्ने प्रवृत्ति खतरनाक छ । यसले मुलुक प्रतिगमनतर्फ जाने हो कि भन्ने मलाई चिन्ता छ’ उनले भने ।

उत्तर र दक्षिणका छिमेकीलाई ठूलो स्वरले गाली गरेर राष्ट्रियताको रक्षा नहुने भन्दै उहाँले यस्तो प्रवृत्तिलाई नक्कली राष्ट्रवादको संज्ञा दिए ।