रेडक्रसले शक्तिखोरमा विपद् न्यूनीकरण सम्बन्धी कार्यक्रम गर्ने

चितवन, २४ बैशाख । नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले विपद् व्यवस्थापन सम्बन्धि क्षेत्रमा काम गर्ने सरोकारवाला निकायका व्यक्तिहरुलाई विपद् जोखिम न्यूनिकरण सम्बन्धि जानकारी गराएको छ ।Red xross

बाढी पहिरो तथा भूक्षयबाट जोखिममा रहेका चितवन जिल्लाका विभिन्न स्थानहरुमा हुन सक्ने जोखिम न्यूनिकरण कसरी गर्ने भन्ने बिषयमा सतर्कता अपनाउनका लागि शुक्रबार एकदिने कार्यक्रम गरिएको नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका कार्यक्रम अधिकृत उत्तमनाथ शर्माले जानकारी दिए । जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी निकायका साथै विपद् व्यवस्थापन सम्बन्धि काम गर्ने विभिन्न निकायका पदाधिकारीहरुलाई सो सम्बन्धि जानकारी गराइएको उनले बताए ।

कार्यक्रम अधिकृत शर्माका अनुसार यस वर्ष साविकको शक्तिखोर गाविसका १, २, ३ र ४ नं. वडामा विपद् न्यूनिकरण सम्बन्धि कार्यक्रम गर्ने भएको छ । विपद्बाट जिल्लाका विभिन्न क्षेत्रहरु प्रभावित भएपनि यसवर्ष शक्तिखोरका ४ वटा गाविसमा कार्यक्रम गर्ने निर्णय भएको शर्माले बताए । कार्यक्रममा विपद्बाट कसरी जोगिने र हुन सक्ने सम्भावित विपत्तीबाट जोगिन कस्ता उपाय अपनाउने भन्ने बिषयमा त्यस क्षेत्रका स्थानीयलाई जानकारी गराउन आवश्यक भएको शर्माले बताए ।

सम्भावित क्षेत्रहरुमा यस्ता जनचेतनामूलक कार्यक्रम गर्न सके विपद्को जोखिमबाट बच्न सक्ने नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उपमहामन्त्री हरिप्रसाद न्यौपानेले जानकारी दिए । बर्षैपिच्छे हुने जलवायू परिवर्तनका कारण पनि नेपालमा विपदका घटनाहरु बढ्दै गएकोले यस्को न्यूनिकरण गर्न स्थानीयस्तरबाटै पहल थाल्नुपर्ने न्यौपानेको भनाई थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनका सभापति ज्ञानशाली न्यौपाने, प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह, स्थानीय विकास अधिकारी श्रवण कुमार पोख्रेल लगायतको सहभागीता रहेको थियो ।