संविधान कार्यान्वयनमा सबैको साथ आवश्यक : सभामुख घर्ती

चितवन, १८ वैशाख । व्यवस्थापिका संसदकी सभामुख ओनसरी घर्तीले संविधानले दिएका अधिकारहरुलाई कार्यान्वयन गराउनको लागि समुदायको साथ र अग्रसरता जरुरी रहेको बताएकी छिन् ।
vlcsnap-2016-04-30-18h42m20s215

नेपाल मगर संघको ११ औं राष्ट्रिय महाधिवेशन चितवनको भरतपुरमा शनिबार उद्घाटन गर्दै सभामुख घर्तीले संविधानमा नभएका प्रावधानलाई थपेर पूर्णता दिन बाँकी रहेका सन्दर्भमा संविधानले दिएका प्रावधानलाई कार्यान्वय गर्न सबैले अग्रसरता देखाउनुपर्ने बताइन् । समावेशी समानुपातिक प्रावधानको लागि संविधान संशोधन गरिएको उल्लेख गर्दै परम्परादेखिनै सबै भन्दा पछाडि पारिएको वर्गले अवसर पाओस् भन्ने भावना समेटिएको घर्तीले बताइन् । नेपालको संविधान संशोधन गर्न मिल्ने खालको निर्माण गरिएकोले यसलाई संशोधन गर्दै अगाडि बढिने घर्तीको भनाइ थियो ।
संविधानले समेट्न नसकेका विषय वस्तुलाई संशोधन मार्फत थप गर्दै लगिने घर्तीले बताइन् । नेपालको सार्वभौमिकताका विषयमा संविधानमा संशोधन गर्न नमिल्ने भएपनि मगरहरुले उठाउँदै आएको मगरात राज्यको विषयमा संविधानमा संशोधन गरेर अगाडि बढ्ने बाटो संविधानले खुला गरेको घर्तीले बताइन् । संविधानमा भएका विषयलाई कार्यान्वयन गर्दै अपूर्णतालाई संशोधन गर्दै पूर्णता दिएर अगाडि बढ्नुपर्ने घर्तीको भनाइ छ ।
अधिकार सम्पन्न एकीकृत मगरात स्वायत्त प्रदेश प्राप्तीका लागि साझा अभियान, मगर समुदायको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको पक्षमा ११ औं राष्ट्रिय महाधिवेशन भन्ने मूल नाराका साथ सुरु भएको अधिवेशन ५४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै वैशाख २२ गते सकिने छ । उद्घाटन हुनुपूर्व नारायणगढको क्याम्पाचौरबाट विभिन्न झाँकी सहित निस्किएको ¥याली बजार परिक्रमा गर्दै भरतपुरमा पुगेर सभामा परिणत भएको थियो ।
महाधिवेशनमा संघको ६६ जिल्ला, छ वटा भातृ संस्था र १२ वटा विभन्न देशबाट कुल पाँच सय ६६ जना प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहेको छ । उद्घाटन सत्र भरतपुरमा गरिएपनि बन्दसत्र नारायणगढको नारायणी कला मन्दिरमा हुनेछ । यस महाधिवेशको उद्घाटन सत्रका वक्ताहरुले एकीकृत मगरात राज्यका लागि सभामुख समक्ष माग गरेका थिए । कार्यक्रम नेपाल मगर संघका केन्द्रीय अध्यक्ष महेन्द्र थापा मगरको अध्यक्षतामा भएको थियो ।