ई–रिक्सालाई व्यवस्थित गर्दै ट्राफिक प्रहरी

चितवन, १८ वैशाख । भरतपुुर उपमहानगरपालिका भित्र सञ्चालनमा रहेका ई–रिक्साहरुलाई व्यवस्थित गर्नको लागि नयाँ प्रकृया सुरु गरिएको छ । भरतपुर भित्र सञ्चालन हुँदै आएका ई–रिक्साहरु अव्यवस्थित भएको र धेरै भएको गुनासो आएपछि व्यवस्थित गर्नका लागि तिनीहरुमा नम्बर लगाउन थालिएको छ ।
ई–रिक्साहरुमा यातायात व्यवस्था कार्यालयबाट प्रदान गरेको नम्बर बाहेक शनिबारदेखि छुट्टै नम्बर लगाउन सुरु गरिएको हो । नयाँ लगाउन लागिएको स्टिकर १ नम्बरदेखि लगाउने र भरतपुर भित्र कति संख्यामा ईरिक्सा सञ्चालनमा छन् भन्ने प्रष्ट हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख राजन भेटवालले बताए । भरतपुर उपमहानगरपालिकासँगको सहकार्यमा ट्राफिक प्रहरीले नयाँ नम्बर दिएको हो ।
यहि वैशाख २० गतेसम्म उक्त अभियान सञ्चालन गरिने र उक्त समयसम्म भरतपुर भित्र सञ्चालनमा रहेका सबै ई–रिक्साहरुलाई दर्ता गराउन भेटवालले आग्रह गरे । भरतपुरमा सञ्चालनमा रहेका रिक्सा अन्य ठाउँमा जान नपाउने र अन्य ठाउँबाट पनि भरतपुरमा आउन नपाउने भेटवालको भनाइ छ । जुन क्षेत्रमा चलाउनका लागि परमिट लिएको छ त्यहि ठाउँमा मात्र सञ्चालन गर्ने वातावरण मिलाउन समेत नम्बर प्रदान गरिएको भेटवालले बताए ।
यसरी नम्बर टाँस गर्दा रिक्साको नम्बर यात्रुले सजिलै थाहा पाउने हुनाले यात्रुको सामान हराएमा वा यात्रुलाई दुख दिएमा तुरुन्त कारबाही गर्न सहज हुने भेटवालले बताए । यसरी नम्बर प्रदान गर्दा सम्पूर्ण रिक्साको विवरण जिल्ला ट्राफिक प्रहरी कार्यालयमा हुने भएकाले कुनै चालकले बदमासी गरेमा तुरुन्त कारबाही गर्न सकिने भेटवालको भनाइ छ । सुरुमा नगरपालिकाले सिफारिस गरेको अवस्थामा मात्र यातायात व्यवस्था कार्यालयले रुट परमिट दिने गरेकोमा पछि सिफारिस बिना नै रुट परमिट दिन थालेपछि भरतपुरमा ईरिक्सा बढी भएको गुनासो समेत आउन थालेको छ ।
ई–रिक्सालाई मुख्य राजमार्गमा सञ्चालन गर्न नदिने भनेर यातायात व्यवस्था कार्यालयबाट निर्देशन आएकाले समेत आगामी दिनमा कसरी सञ्चालन गर्ने भन्ने समेत चुनौति थपिएको छ ।

Leave a Reply

Your email address will not be published.