‘प्रगतिशील लेखनको श्रेय साहित्यकार पारिजातलाई’

चितवन, १८ वैशाख । नेपाली साहित्यिक क्षेत्रमा साहित्यकार पारिजातले प्रगतिशील तरिकाले साहित्यिक कृति लेखनको थालनी बसालेको बताइएको छ । शनिबार नारायणगढमा आयोजना भएको प्रगतिशील साहित्य, कस्तो लेख्ने, किन लेख्ने कार्यक्रमका वक्ताहरुले नेपाली प्रगतिशील साहित्यको श्रेय पारिजातमा जाने बताएका हुन् ।
कार्यक्रममा साहित्यकार खगेन्द्र संग्रौलाले समाज विभाजित भएको र साहित्यमा सुक्ष्म रुपमा घुमाउरो तरिकाले वर्गको प्रवेश हुने बताए । सत्ता दुई थरीको हुने भन्दै संग्रौलाले हरेक ठाउँमा कि त समाजको सत्ता यात शोषकहरुको सत्ता हुने बताए । प्रगतिशील साहित्यले समाजमा रहेका उत्पीडितहरुको आवाज बुलन्द पार्ने संग्रौलाको भनाइ थियो ।
साहित्यकारहरुको जिज्ञासा समाधान गर्दै संग्रौलाले सडकमा छउन्जेल राम्रो कुरा गर्ने व्यक्ति सत्तामा पुगेपछि सबै कुराहरु बिर्सने हुँदा तिनीहरुको विरोध गर्दै लेख लेख्ने भएकाले उनीहरुले आफूलाई गाली गर्ने गरेको बताए । समाजमा अपेक्षा जगाउने र सत्तामा पुगेपछि पूरा नगर्ने प्रवृत्तिका व्यक्तिलाइ आफूले सधै गाली गर्ने संग्रौलाको भनाइ थियो ।
उक्त कार्यक्रममा साहित्यकार डाक्टर अमर गिरीले साहित्यको विशिष्ट प्रकृतिको ख्याल गर्दै गम्भिरता तर्फ लैजानुपर्ने बताए । साहित्यलाई लेखनको राजनीतिक रुपमा लिनुपर्ने भन्दै डाक्टर गिरीले प्रगतिशील साहित्यले समाजमा रहेका निमुखा वर्गको आवाज प्रस्तुत गर्ने बताए । समाज विभाजित भएजस्तै गरी लेखकहरु पनि विभाजित हुने गिरीको भनाइ थियो । माक्र्सवादीहरुले कलात्मक तरिकाले मात्र कृति रचना गर्दा समाज परिवर्तन गर्नसक्ने ध्यय राख्ने गिरीको धारणा रहेको थियो ।
२३ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजना गरिएको बहस कार्यक्रममा प्रगतिशील लेखक संघ चितवनकी निवर्तमान अध्यक्ष सरिता तिवारीले सहजीकरण गरेकी थिइन् । प्रगतिशील लेखक संघका नेपाल चितवन शाखाका अध्यक्ष सुमनराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको उद्घोषण सचिव विपिन पाठकले गरेका थिए । कार्यक्रममा जिल्लाका साहित्यकारहरुको सहभागिता रहेको थियो ।

.