‘सीसी क्यामेराले प्रहरीलाई व्यवसायिक बनायो’

आनन्द पोखरेल
चितवन, १७ वैशाख । जिल्ला प्रहरी कार्यालय चितवनमा सीसी क्यामेरा जडान भएपछि प्रहरीहरु व्यवसायिक भएका छन् ।
कार्यालय भित्र विभिन्न १६ ठाउँमा राखिएका क्यामेराका कारण प्रहरीहरुले व्यवसायिक भएर काम गर्न थालेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक वसन्त बहादुर कुँवरले बताएका छन् । कार्यालयको हिरासत कक्ष, थुनुवा भेटघाट कक्ष, अपराध अनुसन्धान शाखा, छानविन कक्ष, प्रहरीले पक्राउ गरेर राखेको मोटरसाइलक पार्किङस्थल, कार्यालयको मुख्य प्रवेशद्वार लगायतका ठाउँमा सीसी क्यामेरा राखिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनको हाताभित्र सर्वसाधारणको उपस्थिति बाक्लो हुने र प्रहरीले काम गर्ने सबै ठाउँमा सीसी क्यामेरा राखेर प्रहरी उपरीक्षकको कोठाबाट निगरानी भइरहेको छ ।
CC Camera

सबै ठाउँमा सीसी क्यामेरा राखिदा त्यस ठाउँमा कार्यरत प्रहरीहरुले हामीलाई निगरानी भएको छ भन्ने हिसाबले सचेतता पूर्वक पूर्ण व्यवसायिक भएर काम गरिरहेका प्रहरी उपरीक्षक कुँवरले बताए । जिल्ला प्रहरी कार्यालय चितवनको हिरासत कक्षभित्र पनि थुनुवाहरुबीच बलियोले निर्धोलाई हेप्ने प्रचलन रहेकोमा सीसी क्यामेरा जडानपछि उक्त काम निर्मूल भएको प्रहरी उपरीक्षक वसन्त बहादुर कुँवरको भनाइ छ ।
नारायणगढका व्यवसायी बालगोपाल चुकेको आर्थिक सहयोगमा सीसी क्यामेरा जोडिएको थियो । कार्यालय भित्र १६ ठाउँमा सीसी क्यामेरा जडान गर्दा लागेको करिब साढे दुई लाख रुपैयाँ चुकेले प्रदान गरेका थिए । त्यसैगरी, सीसी क्यामेराको निगरानीका लागि रत्ननगर उद्योग वाणिज्य संघले टेलिभिजन प्रदान गरेको थियो ।