मगर संघको महाधिवेशनको तयारी पूरा

चितवन, १७ वैशाख । चितवनमा शनिबारदेखि सुरु हुने नेपाल मगर संघको ११ औं राष्ट्रिय महाधिवेशनको तयारी पुरा भएको छ । शुक्रबार नारायणगढमा पत्रकार सम्मेलनगरि महाधिवेशनको सम्पूर्ण तयारी पुरा भइसकेको संघले जानकारी दिएको हो ।
‘अधिकार सम्पन्न एकीकृत मगरात स्वायत्त प्रदेश प्राप्तीका लागि साझा अभियान, मगर समुदायको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको पक्षमा ११ औं राष्ट्रिय महाधिवेशन’ भन्ने मूल नाराका साथ हुन लागेको महाधिवेशनको सभामुख ओनसरी घर्ती मगर उद्घाटन गर्ने बताइएको छ । भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसमा हुने उद्घाटन गरिने अधिवेशन अगाडि शनिबार बिहान १० बजे नारायणगढको क्याम्पाचौर नारायणगढबाट निस्कने ¥यालीले बजार परिक्रमा गर्ने बताइएको छ ।
महाधिवेशनमा संघको ६६ जिल्ला, ६ वटा भातृ संस्था र १२ वटा विभन्न देशबाट कुल पाँच सय ६६ जना प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहने संघका महासचिव नविन रोक्का मगरले जानकारी दिए । नारायणी कला मन्दिर नारायणगढमा वैशाख २२ गतेसम्म सञ्चालन हुने महाधिवेशनमा १९ र २० गते सहभागीलाई १८ वटा समूहमा विभाजन गरि प्रतिवेदनमाथि छलफल गरिने बताइएको छ ।
त्यस्तै २१ गते नयाँ नेतृत्व चयन प्रक्रिया सुरु भई २२ गते नयाँ कार्यसमिति चयनसँगै घोषणा सभा हुने संघका अध्यक्ष महेन्द्र थापा मगरले बताए । यस महाधिवेशबाट एकीकृत मगरात राज्यका लागि जोडदार माग गरिने थापा मगरले बताए । विभिन्न राजनीतिक दलसँग झुकाव भएकाले मगरका मुद्दा ओझेलमा परेको भन्दै सबै एकजुट हुनुको विकल्प नरहेको थापा मगरको भनाइ छ ।
मगर समुदायबाट हाल व्यवस्थापिका संसदमा २१ जना सांसदहरुको प्रतिनिधित्व रहेको छ । एघारौँ राष्ट्रिय जनगणना अनुसार नेपालमा करिव १९ लाख मगर समुदाय रहेका छन् । नेपालमा गण्डकी, धौलागिरी, लुम्बिनी, राप्ती र भेरी अञ्चलमा मगर समुदायको विशेष बसोबास रहेको छ ।

Leave a Reply

Your email address will not be published.