महासंघको केन्द्रीय साधारण सभामा प्रत्यक्ष प्रसारण गरिने

चितवन, १७ बैशाख। चितवनको रत्ननगमा वैशाख २१ गतेदेखि हुने नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभामा सूचना र प्रविधिको भरपुर उपयोग गरिने भएको छfnj-bulding-photo
साधारणसभालाई उत्कृष्ट बनाउन जिल्लाका सबै सञ्चार माध्यमहरुले आवश्यक जनशक्ति र उपकरण उपलव्ध गराउने प्रतिबद्धता जनाएको नेपाल पत्रकार महासंघ चितवनले जानकारी दिएको छ । सूचना प्रविधिसँग सम्बन्धित अन्य संघसंस्थासँगसमेत समन्वय गरेर प्रविधिको उच्चतम प्रयोग गर्न लागिएको साधारण सभाको सञ्चार प्रविधि उपसमितिकी संयोजक शान्ता अधिकारीले जानकारी दिइन् ।
महासंघको साधारण सभामा मिडिया सेन्टर नै स्थापना गरेर उच्च गतिको इन्टरनेटको व्यवस्था गरिने तथा राष्ट्रपति र सरकारका उच्च अधिकारीसमेत आउने भएपछि सीसी क्यामेरा जडान गरेर प्रत्यक्ष निगरानीसमेत गरिने भएको छ । साधारण सभामा प्रोजेक्टरको माध्यमबाट विभिन्न ठाउँमा औपचारिक खण्डका गतिविधि देखाइने र प्रतिनिधिहरुको सहजताका लागि हल बाहिर पनि टिभी हेर्न सकिने व्यवस्थासमेत मिलाइएको अधिकारीले जानकारी दिइन् ।
सोका लागि इन्टरनेट या फोनमा कुनै समस्य आउन नदिन नेपाल टेलिकमले एउटा विटिएरसमेत थपेर सेवा दिने प्रतिबद्धता जनाएको पत्रकार महासंघ चितवनका अध्यक्ष तथा स्थानीय मूल समितिका संयोजक हरिप्रसाद पोखरेलले जानकारी दिए ।
उनका अनुसार आवश्यक समन्वयका लागि समितिका पदाधिकारीहरुलाई वाकीटकीको व्यवस्था गरिएको छ । सूचना प्रविधिको उच्चतम प्रयोगका विषयमा बिहीबार महासंघको कार्यालयमा जिल्लाका सञ्चार माध्यामका प्रमुख तथा प्रतिनिधिहरुसँग उपसमितिले छलफल गरेको छ ।
छलफलमा अनलाइनसहितका स्थानीय सञ्चार माध्यमका प्रतिनिधिहरुले उद्घाटन सत्रको प्रत्यक्ष प्रशासन गर्ने, आवश्यक जनशक्ति र उपकरणहरु उपलव्ध गराउने तथा कार्यक्रम उत्कृष्ट बनाउन आफ्नो सञ्चारमाध्यामका क्षेत्रबाट सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रत्यक्ष प्रशारण भने सञ्चार प्रविधि उपसमितिको संयोजन र समन्वयमा गर्ने निर्णय समेत भएको छ । यसैबीच सञ्चार प्रविधि उपसमितिको बैठकले पत्रपत्रिकाको समाचार संकलनका लागि उपसमिति सदस्य नारायण ढुंगाना र अनलाइन टिभी तथा रेडियोको समाचार संकलनका लागि सदस्य राजु चौधरीलाई जिम्मेवारी तोकिएको छ ।
यस्तै भिडियो संकलनका लागि उपसमितिका सदस्य विचित्र पौडेल र तस्वीर संकलनका लागि सदस्य कोमलचन्द्र भगतलाई जिम्मेवारी तोकिएको छ । महासंघको फेसबुक, भाइवर र जिमेलबाट आएका समाचार, तस्बिर र भिडियोहरु आधिकारिक हुने महासंघले जनाएको छ ।
यसैबीच पत्रकार महासंघको साधारण सभाको तयारी अन्तिम चरणमा पुगेको नेपाल पत्रकार महासंघ चितवनले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने साधारण सभामा देशभरका एक हजार ६५१ जना सभासद्सहितका पत्रकारहरुको सहभागिता रहने छ । साधारण सभाले प्रादेशिक संरचना अनुसारको विधान संयसोधनसहितका विभिन्न प्रस्तावहरु माथि छलफल गरेर निष्कर्ष निकाल्ने छ ।