भव्य रुपमा गणतन्त्र दिवस मनाउने तयारी

काठमाडौँ, १६ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन गरिएको छ । सिंहदरबारमा बिहीबार बसेको मूल समारोह समितिको बैठकले आगामी जेठ १५ गते गणतन्त्र दिवस मनाउने सिलसिलामा जेठ १४ देखि १६ गतेसम्म तीन दिन देशभित्र र देशबाहिर रहेका नेपाली नियोगहरुमा विविध कार्यक्रम गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको अध्यक्षतामा कामु प्रधान न्यायाधीश सुशीला कार्की, सभामुख ओनसरी घर्ती, उप्रधानमन्त्रीहरु, मन्त्रीहरु, पूर्व प्रधानमन्त्रीहरुलगायत रहेका मूल समारोह समिति गठन गरिएको छ ।
सूचना तथा सञ्चारमन्त्री शेरधन राईको संयोजकत्वमा मन्त्रालयका सचिव दिनेशकुमार थपलिया, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक, नेपाल टेलिभिजनका अध्यक्ष, गोरखापत्र संस्थानका अध्यक्ष, रेडियो नेपालका कार्यकारी निर्देशकलगायतको प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वास्तविक लोकतन्त्रमा गणतन्त्र अनिवार्य रहेको बताए। जनता सार्वभौम भएको दिनका रुपमा गणतन्त्र दिवसलाई भव्य र उल्लासमय वातावरणमा मनाउन आग्रह गर्दै दिवसलाई जनस्तर र नयाँपिँढीमा समेत लैजान आवश्यक रहेकामा ओलीले जोड दिए ।
बैठकले जेठ १४ गते गणतन्त्र दिवस मनाउन सञ्चारमाध्यमलाई सार्वजनिक अपिल गर्ने, सञ्चारमाध्यमबाट गणतन्त्रसम्बन्धी लेख रचनाको सङ्गालो प्रकाशन गर्ने र साँझ दीपावली गर्ने कार्यक्रम तय गरेको छ ।
जेठ १५ गते गणतन्त्र दिवसका दिन सूर्योदयका साथ नेपाली सेनाद्वारा बिगुल बजाउने, तोप र बन्दुकको बढाइँ गर्ने, मठमन्दिर, मस्जिद, बौद्ध विहार, गिर्जाघरलगायतका धार्मिकस्थलमा पूजापाठ तथा प्रार्थनाको कार्यक्रम गरिने छ । सोही दिन बिहान ८ बजे मूल समारोह समितिका अध्यक्ष तथा सदस्यहरु, राजनीतिक दलका नेता, कार्यकर्ता, खेलाडी, मजदुर, किसान, सर्वसाधारण टुँडिखेलमा उपस्थित हुने कार्यक्रम छ ।
जेठ १६ गते प्रधानमन्त्रीसहित मन्त्रीहरु र मुख्यसचिवसहित सचिवहरुबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता र साँझ दीपावली गर्ने कार्यक्रम छ । त्यसैगरी, उपत्यका बाहिरसमेत जेठ १४ देखि १६ गतेसम्म गणतन्त्र दिवस मनाउन विविध कार्यक्रमको आयोजना गरिने छ ।

Leave a Reply

Your email address will not be published.