रिलेशन एफ एमले प्रथम बार्षिकोत्सव सप्ताहब्यापी मनाउने

चितवन, १५ बैशाख । पुर्वी चितवनको सौराहचोकमा अवस्थित रिलेशन एफ एम ८८ मेगाहर्जले यहि जेठ १५ गते आफ्नो गौरवमय प्रथम बार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाउने भएको छ । एफएमले आज रत्ननगरमा पत्रकार सम्मेलनको आयोजना गरि प्रेस बिज्ञप्ति जारी गर्दै सप्ताहब्यापी रुपमा कार्यक्रम गर्न लागिएको जानकारी दिएको हो ।9753a00a-2012-4115-8981-1a1ae8a5be8a दिइएको जानकारीअनुसार बार्षिकोत्सव कार्यक्रम जेठ ९ गतेबाट सुरु हुनेछ । जेठ ९ गते बार्षिकोत्सव समुदघाटनसँगै बृहत रक्तदानको आयोजना गरिएको एफएमका अध्यक्ष अनिल अधिकारीले जानकारी दिए । त्यस्तै जेठ १० गते सौराहचोकमा ट्राफिक जनचेतना कार्यक्रम, ११ गते बिकट पहाडि गाँऊ लोथर १ पर्खालमा स्वास्थ्य शिविर कार्यक्रम, १२ गते रिलेशन बृद्धबृद्धा अक्षयकोष स्थापनार्थ सहयोग संकलन कार्यक्रम, १३ गते अन्तर शिक्षक हाजिरिजवाफ प्रतियोगिता, १४ गते खुल्ला गजल प्रतियोगिता र अन्तर कर्मचारी म्युजिकल चियर प्रतियोगिता र १५ गते बिबिध साँस्कृतिक उत्सवसँगै बार्षिकोत्सव समापन समारोह गरिने एफएमले जनाएको छ । एफएमले समाजमा केहि नयाँ कार्यको सुरुवात गर्नकै लागि रिलेशन बृद्धबृद्धा अक्षयकोष स्थापना गर्न लागेको अध्यक्ष अधिकारीको भनाई छ । आफुहरुले ५ लाखको कोष स्थापना गर्ने लक्ष्य लिएको बताउदै उक्त रकमबाट हरेक महिना रत्ननगर नगरपालिकाभित्रका सबैभन्दा जेष्ठ बृद्ध र बृद्धालाई एक एक हजारका दरले भत्ता उपलब्ध गराउने जानकारी दिए । यस्तै अन्य सम्पुर्ण कार्यक्रम पनि हरेक बर्गका स्रोता, शुभेच्छुकलाई लक्षित गरेर सम्पन्न गर्न लागिएको उनको भनाई छ ।
एफएमका प्रबन्ध निर्देशक रमेश लोहनीले गत बर्ष निकै बिषम परिस्थितिमा पनि जेठ १५ गतेबाट प्रसारण सुरु गरिएको एफएमले एक बर्षको अवधिमा स्रोता, बिज्ञापनदाता र शुभेच्छुकबाट अथाह माया पाएको बताए । उनले सोहि माया र साथका कारण गौरवमय प्रथम बार्षिकोत्सवलाई भव्य रुपमा मनाउने तयारी गरिएको बताउदै यस्तै साथ र सहयोगको निरन्तरताको अपेक्षा गरिएको पनि बताए । उनले अहिले १०० वाटमा प्रसारण भइरहेको एफएमको वाट क्षमता बढाउने प्रक्रियामा रहेको पनि जानकारी दिए । मध्यनेपालका विभिन्न दर्जन बढि जिल्लामा सुनिने रेडियो इन्टरनेट अनलाइनको www.relationfm.com लग इन गरेर र विभिन्न मोबाइल एप्लिकेशनहरुबाट पनि बिश्वभर सुन्न सकिने उनले जनाए । एफएमले २०७२ साल जेठ १५ गतेदेखि प्रसारण सुुरु गरेको थियो ।