साढे पाँच हजार नामावली संकलन

आनन्द पोखरेल
चितवन, १५ वैशाख । निर्वाचन आयोगले चैत १ देखि १९ गतेसम्म सञ्चालन गरेको विशेष कार्यक्रममा चितवनमा पाँच हजार पाँच सय ९६ जनाको विवरण संकलन गरिएको छ । जिल्ला निर्वाचन कार्यालय चितवनले चितवनका पा“चै वटा निर्वाचन क्षेत्रमा १६ वर्ष उमेर पुगेका व्यक्तिहरुको विवरण संकलन गर्ने काम गरेको थियो ।Matadata

१६ वर्ष उमेर पुगेका सबै नागरिकको विवरण लिने काम भएको तर सबै जना मतदाता नभएको जिल्ला निर्वाचन अधिकारी हरि ढकालले बताए । यसै आर्थिक वर्ष २०७२/७३ को असार मसान्तमा निर्वाचन आयोगले मतदाता नामावली प्रकाशन गर्ने समेत ढकालले जानकारी दिएका छन् । विशेष कार्यक्रममा दुई हजार आठ सय २२ जना महिला र दुई हजार सात सय ७४ जना पुरुषको विवरण संकलन गरिएको ढकालले बताए ।

त्यसैगरी, जिल्ला प्रशासन कार्यालयमा जिल्ला निर्वाचन कार्यालयले नियमति संकलन गर्दै आएको विवरणमा गत असारदेखि चैत मसान्तसम्म दुई हजार सात सय २३ जनाले विवरण भरेका छन् । एक हजार पाँच सय १८ जना महिला र एक हजार दुई सय पाँच जना पुरुषले जिल्ला प्रशासन कार्यालयबाट विवरण भरेका ढकालले बताए ।

गत चैत मसान्तसम्म चितवनबाट जम्मा तीन लाख चार हजार दुई सय ८० जनाको विवरण संकलन भएको छ । चैतसम्ममा विवरण संकलन गरिएका मध्ये एक लाख ४७ हजार एक सय ६४ जना महिला तथा एक लाख ५७ हजार एक सय १५ जना पुरुषका साथै एक जना तेस्रो लिंगीको मतदाता नामावलीमा विवरण संकलन गरिएको थियो ।

एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार चितवनको जनसंख्या पाँच लाख ७९ हजार नौ सय ८४ जना रहेको थियो । एघारौँ जनगणना अनुसार चितवनको कुल जनसंख्या मध्ये १५ वर्ष भन्दा माथीको उमेर समूहका जनसंख्या चार लाख आठ हजार नौ सय ७६ जना रहेको थियो ।