दुई जना फरार कैदी पक्राउ

आनन्द पोखरेल
चितवन, १४ वैशाख । सरकारी छाप दस्तखत किर्ते मुद्दामा कैद सजायँ फैसला भएर फरार रहेका दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरी चितवन जिल्ला अदालत पेश गरेको छ । चितवन जिल्ला अदालतबाट गत चैत ३ गते मुद्दाको फैसला भइ ११ महिना २५ दिन कैद सजायँ पाएका भरतपुर ६ का परशुराम कंडेललाई प्रहरीले पक्राउ गरेको हो ।

त्यसैगरी, सोही मुद्दामा कैद सजायँ पाएका भरतपुर ६ कै नवराज सुवेदीलाई पनि प्रहरीले पक्राउ गरि अदालतमा पेश गरेको छ । उनीहरुलाई २०६८ साल चैत १३ गते पक्राउ गरी सरकारी छाप दस्तखत किर्ते गरेको आरोपमा मुद्दा दायर गरिएको थियो । प्रहरीको अनुसन्धानपछि जिल्ला अदालत चितवनले ०६८ चैत १६ गते दुवैलाई १० हजार रुपैयाँ धरौटी लिइ तारेखमा छाड्ने आदेश जारी गरेको थियो । धरौटी पछि तारेखमा छुटेका छुटेका दुवै जना मुद्दा फैसला भएपछि फरार रहेका थिए ।

पक्राउ परेका परशुराम कंडेलले चार वर्ष अगाडि अष्ट्रेलियामा रहेका आफ्ना छोरा कृष्ण प्रसाद कंडेलको भिषा थप गर्नको प्रकृया पूरा गर्न किर्ते कागज गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक वसन्त बहादुर कुँवरले बताए । कंडेलले छोराको आयस्रोत ४० लाख रुपैयाँ देखाउनका लागि आफ्नो नाममा रहेको जग्गा बिक्री गरेको भन्ने राजीनामा कागज तयार गरी मालपोत कार्यालय चितवनका अधिकृतहरुको दस्तखत तथा छाप समेत किर्ते गरेको अभियोग प्रमाणित भएको थियो ।