चितवनमा सवारी चेकजाँचमा कडाई

चितवन, १४ वैशाख । चितवनमा सवारी व्यवस्थापनलाई कडाइका साथ अगाडि बढाइएको छ । सवारी व्यवस्थापनलाई सहज गराउनको लागि सवारी चेकजाँच समेत तीव्र रुपमा गरिदै आएको छ । यसै क्रममा चितवनका विभिन्न स्थानमा मंगलबार समेत सवारी चेकजाँच गरिएको थियो ।

चोरीका मोटरसाइलक, कागजपत्र विना चलाइने सवारी साधनलाई निरुत्साहित गर्नको लागि सवारी चेकजाँच अगाडि बढाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी सहायक निरीक्षक जय प्रकाश मण्डलले बताए । मंगलबार भएको सवारी चेकजाँचका क्रममा भरतपुरबाट विभिन्न सवारी साधनलाई कारबाही गरिएको छ ।

मंगलबारको चेकजाँचमा लाइसेन्स नभएका तीन वटा मोटरसाइकल, कागजपत्र नभएका दुई वटा टेक्टर, दुई वटा म्याजिक भ्यान, नम्बर प्लेट नभएको एउटा पिकअप भ्यान र अन्य गल्ती गरेका १२ वटा सवारी साधन कारबाहीमा परेका छन् । अन्य गल्ती गरेका १२ वटा सवारी साधनबाट मंगलबार नै छ हजार छ सय रुपैयाँ राजश्व असुली गरेको भएपनि अन्यको राजश्व बुधबार मात्र संकलन हुने मण्डलले बताए ।