चितवनमा वैज्ञानिक वन व्यवस्थापन सुरु

कोमल चन्द्र भगत
चितवन, १४ वैशाख । चितवनका विभिन्न पाँच वटा सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सुरु गरिएको छ । कार्यक्रमको शुभारम्भ पशुपति कैलाशपुरी सामुदायिक वन उपभोक्ता समूहबाट गरिएको छ ।
चितवनमा १० वर्षे कार्य योजना बनाएर वैज्ञानिक वन व्यवस्थापनको काम सुरु गरिएको हो । ८० वर्षे वैज्ञानिक वन व्यवस्थापनलाई आधार मान्दै वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सञ्चालन गरिएको वन प्राविधिक राजु क्षेत्रीले बताए । वैज्ञानिक वन व्यवस्थापनको लागि प्रत्येक सामुदायिक वनलाई सरकारले १५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । यद्यपि सरकारबाट प्राप्त बजेट वन विकासमा कमी भएको उपभोक्ताहरुले गुनासो गरे ।
चितवनको शिवपुरी सामुदायिक वन, शिवशक्ति सामुदायिक वन, पशुपति कैलाशपुरी सामुदायिक वन, वनदेवी सामुदायिक वन र जय श्री ब्रह्मस्थानी सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सुरु गरिएको छ । वैज्ञानिक वन व्यवस्थापनका लागि सरकारबाट प्राप्त हुनुपर्ने रकम मध्ये छ लाख रुपैयाँका दरले पाँच वटै सामुदायिक वनले रकम प्राप्त गरिसकेको बताइएको छ ।
पशुपति कैलाशपुरी सामुदायिक वनबाट सुरु गरिएको वन व्यवस्थापनमा वनलाई आठ वटा प्लटमा विभाजन गरी वैज्ञानिक वन व्यवस्थापनको सुरुआत गरिएको बताइएको छ । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ चितवनका अध्यक्ष सुरवीर पोखरेलले वैज्ञानिक वन व्यवस्थापन लागू भएपछि वन संरक्षणमा स्थानीयहरु खुलेर लाग्ने बताए ।
वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमको सुभारम्भका अवसरमा प्रमुख अतिथि रहेका चितवनका जिल्ला वन अधिकृत गणेश रायले वनको संरक्षण सम्वद्र्धन र सदुपयोग नै वैज्ञानिक वन व्यवस्थापन भएको बताए । परम्परागत कालदेखि नै वनको संरक्षण हुँदै आएको भएपनि अहिले सबै वनलाई वैज्ञानिक रुपमा व्यवस्थापन गर्ने कार्यक्रम अगाडि बढाइएको रायको भनाइ छ । वन भित्र भएका सुकेका, बुढा रुखहरुलाई काटेर नयाँ विरुवा रोप्दै वैज्ञानिक तरिकाले वन व्यवस्थापन गरिने रायले बताए ।