भूकम्प प्रभावित छात्रवृत्तिको पढाई सुरु

भरतपुर, १४ बैशाख । गतवर्ष भूकम्प गएको समय पारेर प्राविधिक शिक्षा तथा व्यवसायीक तालीम परिषदको आंगिक क्याम्पस स्कुल अफ हेल्थ साईन्स भरतपुरमा भूकम्प प्रभावित छात्रवृत्ति कार्यक्रम अन्तर्गतको पढाई सुरु गरिएको छ । परिषदका उपाध्यक्ष डा. कुलबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सरकारले भूकम्प प्रभावित १४ जिल्लाका पाँच सय जना विद्यार्थीलाई आबासिय सहित सुविधाको छात्रबृत्तिमा प्राविधिक शिक्षा पढाउदै छ । स्कुल अफ हेल्थ साईसमा फार्मेशिका ४० जना र सामान्य चिकित्साका ४० जना अध्ययन गर्दै छन् । जस मध्ये ३३ जना छात्रा रहेका छन् । सो अवसरमा बस्नेतले प्रकृति संग जुधदै र प्रविधि संग संगत गरेर अघि वढ्नु पर्ने बताउनु भयो । आपत्तिले सृजना गरेको अवसरलाई सहि सदुपयोग गर्न विद्यार्थीहरुलाई आग्रह गर्नु भयो ।
परिवारमा परेको पिडाबाट विचलित नभई तीन वर्ष सम्म दत्त चित्त भएर अध्ययन गर्न उहाँको आग्रह थियो । प्राविधिक शिक्षा अध्ययन गर्नेले शत प्रतिशत रोजगार पाउने भन्दै उहाँले भन्नु भयो “ तपाई र तपाईको परिवारको भत्केको मनलाई सम्हाल्दै जीबनको नयाँ गोरेटो तर्फ लम्कनुहोस ” । सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिनोद प्रकाश सिंहले गत वर्षको जस्तो त्रासदी अव कहिल्यौ नहोस भन्दै उहाँले दुखमा पनि शुखको संकेत हुने हुदाँ यो अवसरलाई अधिकतम उपयोग गरेर आफ्नो खुट्टामा आफै उभिन आग्रह गर्नु भयो ।
सो अवसरमा कलेजका प्राचार्य अचुत दाहालले सक्दो सहयोग क्याम्पसका तर्फ बाट हुने बताउदै दत्त चित्त भएर अध्ययन गर्न विद्यार्थीलाई आग्रह गर्नु भयो । व्यवसायीक शिक्षामा गुणस्तरको हिसाबले स्कुल अफ हेल्थ साईन्स उत्कृष्ठ शिक्षालयका रुपमा गनिन्छ । गत वर्ष भूकम्प गएको ११ वजेर ५६ मिनेटको समयमा दिवङ्गत भएकाहरुको संम्झनामा मौन धारण गर्दै गर्दा अधिकांश प्रभावित क्षेत्रका विद्यार्थीहरुको आखाँ रसाएका थिए ।