४६ जनाले रक्तदान गरे

चितवन, ११ वैशाख । इलेक्ट्रोनिक्स व्यवसायी नारायणगढको आयोजनामा शनिबार खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लोकतन्त्र दिवसको अवसर पारेर नारायणगढको सहिदचोकमा आयोजना गरिएको रक्तदानमा पाँच जना महिला सहित ४६ जनाले रक्तदान गरेका छन् ।
संघले विगत तीन वर्षदेखि नयाँ वर्ष र लोकतन्त्र दिवसको अवसर पारि वैशाख ११ गते नियमित रुपमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । शनिबारको रक्तदान कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतम रहेका थिए । गौतमले इलेक्ट्रोनिक्स व्यवसायी संघ चितवनका अध्यक्ष अर्जुन पुरीलाई ब्लडब्याग हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका हुन् । गौतमले कार्यक्रम उद्घाटन गर्दै मानव सेवाको लागि इलेक्ट्रोनिक्स व्यवसायी संघले गरेको काम सह्रानीय भएको उल्लेख गरे ।
बढ्दो गर्मीसँगै चितवनमा रगतको अभाव खड्कीने समस्यालाई थोरै पनि परिपूर्ति गर्नका लागि संघले आयोजना गरेको रक्तदान महत्वपूर्ण रहेको गौतमको भनाइ थियो । कार्यक्रममा इलेक्ट्रोनिक्स व्यवसायी संघ नारायणगढका अध्यक्ष अर्जुन पुरीले विगत देखि गर्दै आएको सामाजिक कामलाई निरन्तरता दिने प्रतिवद्धता जनाए । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका तृतीय उपाध्यक्ष तथा वस्तुगत संघका संयोजक विष्णु कंडेल, रक्तदान कार्यक्रम संयोजक सत्यनारायण श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।