नवलपरासीको छिपछिपेको ढुंगेनी गाउंमा पानीको हाहाकार

नवलपरासी, ११ बैशाख ।नवलपरासीको कावासोती नगरपालिका ४ छिपछिपेको ढुंगेनी गाउंका बासिन्दाको दैनिक यति बेला विहान उठेदेखि सांझसम्म पिउने पानीको जोहो गर्नमै जाने गरेको छ । नगरपालिका भित्र रहेको गाउं भए पनि स्थानीय निकायको ध्यान नपुग्दा यहां यस्तो भएको हो । ढुंगेनी गाउंमा रहेको करिब ८० घरपरिवार विहान सखारै उठेर झिसमिसेमै पानीको जोहो गर्न कुद्ने गर्दछन् । गाउंमा स्थानीयले १४ बर्ष अगाडि २०५९ सालमा गाउंलेहरु मिलेर गाउंदेखि डेढ किलोमिटर पर रहेको चुवाडी भन्ने मुहानबाट टंकी बनाएर गाउंमा पानी ल्याएको भए पनि अहिले पानीको मुहान सक्दै गएको कारण यस्तो सास्ती व्यहोर्नु परेको हो। स्नातक प्रथम बर्षमा अध्ययन गर्ने ढुंगेनीका मनिषा पराजुलीले विहान क्याम्पस पढ्न जाने समय पनि पानी लिन जानमै जाने गरेको बताए। यहां अन्य समय पानीको समस्या हुने गरेपनि चैत्र, बैशाख र जेठ महिना गरी तीन महिना पिउने पानीकै समेत हाहाकार हुने गरेको मनिषा पराजुलीले बताइन् । पराजुलीका अनुसार यहां गाउंलेले बनाएको १० वटा सामुदायिक धारा मध्ये अहिले ३ वटा धारामा मात्रै पानी आउंछ त्यो पनि विहानको समयमा मात्रै। विहान धारामा आएको पानीका लागि पनि घण्टौं लाइनमा बसेर पालो कुर्नु पर्ने बाध्यता रहेको सीता सापकोटाले बताइन् ।
विहानको धारामा आएको पानीले पिउन पानी पनि नपुग्ने भएकाले त्यसपछि दिनभरी आधा घण्टा लागेर पुग्नु पर्ने चुवाडीको मुहानमै पुगेर पानी ल्याउनु पर्दछ।
संगै रहेको छिपछिपेकै बीच टोलमा बोरिंगबाट पिउने पानीको व्यवस्था गरिएको र बगनासे टोलमा नजिकैको मुहानबाट २४ सैं घण्टा पानी आउने गरी घरघरमा धारा जडान गरिएको छ। त्यस्तै नजिकैको गाउं हसौरामा खानेपानी आयोजनाले नै पानी वितरण गरेको भए पनि ढुंगेनी गाउंमा पनि अझसम्म नगरपालिकाको समेत ध्यान पुग्न सकेको छैन।
छिपछिपे खानेपानी आयोजना ढुंगेनीका अध्यक्ष ताराखर अधिकारीले आफ्नो गाउंमा भएको पिउनेपानीको समस्याका बारेमा पटक पटक सम्बन्धित निकायमा जानकारी गराउंदा पनि कसैले ध्यान नदिएको बताए।

Promise Education Consultancy