६ हजार हेक्टर वनमा आगलागी

धु्रवराज खनाल

चितवन, बैशाख ११ । चितवनका सामुदायिक वनमा व्यापक आगलागी तथा डढेलो लागेको छ । डढेलोबाट जोगाउन विभिन्न जनचेतनामूलक कार्यक्रम तथा ‘फायर लाईन’ निर्माण गरिएपनि वन क्षेत्रफलको एक चौथाइ भन्दा बढी हेक्टरमा डढेलो लागेको छ ।
डढेलोका कारण वातावरणीय प्रभाव पार्नुका साथै जीवजन्तुलाई समेत असर गर्दै आएको छ । जिल्ला वन कार्यालयका वन अधिकृत गणेश रायका अनुसार चितवनका सामुदायिक वनमध्ये ६ हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा डढेलो लागेको छ । ६ हजार हेक्टर जिल्ला वन कार्यालयको मातहतमा रहेका सामुदायिक वनमा मात्रै आगलागी भएको हो ।
“आगलागी पहिलेदेखि नै हुँदै आएको हो”, जिल्ला वन अधिकृत रायले भने, “आगो निभाउन समूह परिचालन हुन्छन्, उपकरण प्रयोग हुन्छ जति नै प्रयास गरेपनि आगलागीबाट जोगाउन नसकिने रै’छ ।” सुरुमा निभाउन सके मात्रै नियन्त्रण हुने नत्र पूरै वन नै सखाप हुने उनले बताए । वन अधिकृत रायका अनुसार यसवर्ष आगो निभाउने क्रममा सामुदायिक वनका अध्यक्षहरु घाइतेसमेत भएका छन् । जिल्लामा जिल्ला वन कार्यालय र चितवन राष्ट्रिय निकुञ्जको मातहतमा रहने गरी २ प्रकारले सामुदायिक वनलाई विभाजन गरिएको छ ।
जिल्ला वनको मातहतमा रहेका ८० वटा सामुदायिक वनको कुल क्षेत्रफल २५ हजार हेक्टर छ भने निकुञ्जको मातहतमा ८३ हजार हेक्टरको वन क्षेत्रफल छ । त्यस्तै ७ हजार हेक्टर संरक्षित तथा १ हजार ५ सय हेक्टर कवुलियती वन रहेका छन् । विगतका वर्षहरुमा पनि डढेलोले सामुदायिक वन सखाप पारेको थियो । निकुञ्ज मातहतमा रहेका सामुदायिक वनमा पनि २० प्रतिशतकै हाराहारीमा आगलागी भएको बताइएको छ ।
खैरहनीमा रहेको कंकाली सामुदायिक वनका अध्यक्ष राममणि न्यौपाने चोरी सिकारी, चुरोटको ठुटा जथाभावी फाल्नु तथा नियतवश वनमा आगो लगाउने गरेका कारण बताउँछन् । “मानिस जानी–जानी पनि वनमा आगो लगाउँछन्”,कंकाली सामुदायिक वनका अध्यक्ष न्यौपानेले भने, “घाँस काट्न जानेहरुले चुरोटका ठुटा फाल्छन्,आगै लगाएर काठ तस्करी हुन्छ, त्यसका लागी जनचेतना आवश्यक छ ।” सो वनमा पनि यसपटक २०० हेक्टर क्षेत्रफलमा आगलागी भएको छ । वनको क्षेत्रफल ७५० हेक्टर छ ।
डढेलो न्यूनीकरणका लागि गस्ती बढाउनुपर्ने, फारलाईन निर्माणलाई व्यापकता दिनुपर्ने तथा जनचेतना फैलाउनुपर्ने न्यौपानेले बताए । न्यौपानेका अनुसार चैत, वैशाखको समयमा वन प्रवेशमा रोक लगाउन सके पनि धेरै मात्रामा डढेलो नियन्त्रण गर्न सकिन्छ ।