द्वन्द्वकालका उजुरी कम

 

चितवन, बैशाख ११ । चितवनमा द्वन्द्वकालीन मुद्दाको उजुरी स्थानीय शान्ति समितिमा ज्यादै न्यून परेको छ । १० वर्षे द्वन्द्वकालमा जिल्लामा बम विस्फोटमा परी ३७ जनाको ज्यान गएको थियो भने ७२ जना घाइते थिए ।
राज्य तथा विद्रोही पक्षबाट कैयौंको ज्यान गयो भने कैयौं अंगभंग भए । स्थानीय शान्ति समिति चितवनका अनुसार हालसम्म जम्मा ३ वटा उजुरी दर्ता भएको छ । जसमध्ये २ वटा वेपत्ता तथा एउटा क्षतिपूर्ति मागको उजुरी परेको शान्ति समिति चितवनकी कम्प्युटर अपरेटर धैर्यता पौडेलले जानकारी दिइन् । उनका अनुसार २० जनाले उजुरी दिन भन्दै फाराम लिएर गएका छन् ।
सत्यनिरुपण तथा मेलमिलाप आयोगले दश वर्षे द्वन्द्वकाका पीडितहरुलाई न्याय दिलाउने उद्देश्यले देशभरका स्थानीय शान्ति समितिबाट यही वैशाख ५ गतेबाट उजुरी लिने कार्य सुरु गरेको हो । १० वर्षे द्वन्द्वकालको समयमा सबैभन्दा बढी मानवीय क्षति भएको थियो । उजुरी दिनका लागि आयोगले असार २ गतेसम्मका लागि म्याद तोकेको छ ।

Leave a Reply

Your email address will not be published.