नारायणगढ–मुग्लिन खण्डमा काम मन्द

 

दिपेन्द्र अधिकारी

चितवन, १० बैशाख । नारायणगढ–मुग्लिन खण्डमा दिनको समयमा गाडी रोकेर काम हुने गरेको छ । तर, सडक अवरोध गरेअनुसार काममा भने प्रगति नभएको पाइएको छ । अर्कोतर्फ निर्माण कम्पनीको अनुरोध स्वीकार गर्दै सडक विभागले भने काम गर्नका लागि निर्माणपक्षलाई ४ महिना समय थपिसकेको छ ।
साइट अफिस मुग्लिनका आयोजना प्रमुख चन्द्रकिशोर यादवले दिनको ४ घण्टा गाडी नै रोेकेर काम गरे पनि प्रगति भने खासै हुन नसकेको प्रतिक्रिया दिए । उनको अनुसार यस अवधिसम्ममा ३४ प्रतिशत काम हुनु पर्नेमा हालसम्म जम्मा १४ प्रतिशत मात्र काम भएको छ ।mugalina
लक्ष्यभन्दा २० प्रतिशत कम काम भएको छ । काम गर्नका लागि दैनिक ४ घण्टा सडक बन्द हुने तर काम भने खासै प्रगति नहुने गरेको भन्दै चितवन प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले निर्माण पक्षको ध्यानाकर्षण गराएका छन् ।
२४ महिनाभित्र काम सक्ने गरी २०१५ अप्रिलबाट काम सुरु भएको थियो । नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तर्गत एसियाली विकास बैंकको ऋण सहयोगमा सडकको स्तर उकास्ने काम भइरहेको छ ।
काम गरेको अवस्था अनुसार काममा गति नदेखिएको पाइएको छ ।
त्यस्तै, यस सडक निर्माणको लागि ४ महिना अवधि थप गरिएको साइट प्रमुख यादवले जानकारी दिए । भूकम्प र नाकाबन्दीका कारण काम गर्न कठिनाइ भएको भन्दै निर्माण कम्पनीले समय थपको माग गरेअनुसार हालका लागि ४ महिना समय थप भई सडक विभागबाट स्वीकृत भएको यादवले बताए ।
सडक अवरोध गरेर काम गर्दा पनि अप्ठेरो भएकाले उपलब्धि नदेखिएको निर्माण कम्पनीहरुले बताएका छन् । विहान ११ बजेबाट दिनको ३ बजेसम्म यस सडकखण्ड गत माघ २८ गतेदेखि दैनिक बन्द हुने गरेको छ । निर्माण कम्पनीका कर्मचारी धर्मराज दाहालले भने,‘चार घण्टा गाडी रोक्ने भनिएको छ, तर वास्तवमा हामीले काम गर्ने समय भनेको २ घण्टा मात्र हो ।’
११ बजे मुग्लिन र जुगेडी पार गरेको गाडी १२ बजेसम्म मात्र वारपार हुने हुँदा १ घण्टा अवरोध हुने गरेको दाहालले बताए । पछिल्लो एक घण्टा २ बजेदेखि ३ बजेसम्म पहाड कटिङ गर्दाको सफाइ गर्दैमा बित्ने भएकाले काम गर्ने समय खासै नहुने उनले बताए । भूकम्प र इन्धन अभावले काम तीव्र गतिमा हुन नसकेको उनको भनाइ छ । साथै गाडीको बाक्लो आवतजावतले पनि समस्या भएको निर्माण पक्षको भनाइ छ ।
आफूहरुले यात्रुको समस्यालाई ध्यानमा राखी बिहान बेलुका जाम नहुने गरी काम गरेको उनले बताए । तर सडकमा अन्य गाडीहरु बिग्रेर थन्किदाँ भने ट्राफिक समस्या हुने गरेको उनले बताए । ठेकेदार कम्पनीको आग्रहमा सडक निश्चित समयका लागि बन्द गरिएको हो ।
यातायातको नियमति आगमनले पहाड खन्ने र अन्य काममा पनि बाधा पुगेको भन्दै ठेकेदार पक्षले गुनासो गरेका थिए । यस समयमा गाडीहरुलाई मुग्लिन र जुगेडीमा रोकिएको चितवन ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राजन भेटवालले बताए ।
साथै पछिल्लो समय सुख्खा पहिरो आउनाले पनि सडक मर्मत र गाडी आवातजावतमा समस्या हुने गरेको इन्जियिनर शिव खनालले बताए ।
राजधानी जाने र त्यहाँबाट पूर्व पश्चिम जाने मुल बाटोको रुपमा यस सडकलाई लिइन्छ । सडकको पूनः निर्माणसँगै राजमार्ग अहिलेको तुलनामा दोब्बर बढी चौडाइको हुनेछ । खुला क्षेत्रमा ११ मिटर र जटिल पहाडी क्षेत्रमा ९ मिटर चौडाइको सडक निर्माण गर्ने गरी अहिले राजमार्गको पुनः निर्माण कार्य सुरू गर्न लागिएको हो । चितवनपोष्टबाट