चितवनमा गौरी गाई गणना सुरु

आनन्द पोखरेल
चितवन, ७ वैशाख । वन्यजन्तु सप्ताहको अवसरमा चितवन राष्ट्रिय निकुञ्जमा सोमबारदेखि गौरीगाई गणना सुरु गरिएको छ । गौरी गाई गणनाका लागि चितवन राष्ट्रिय निकुञ्जका २२ वटा हात्तीका साथै एक सय १३ जना कर्मचारी परिचालन भएका छन् ।

निकुञ्जलाई १३ वटा ब्लकमा विभाजन गरि सुरु गरिएको गौरी गाई गणनामा ११ वटा ब्लकमा हात्ती सहितको टोली र दुई वटामा पैदल टोली परिचालन गरिएको प्रमुख संरक्षण अधिकृत रामचन्द्र कंडेलले जानकारी दिए । एउटा ब्लकमा दुई जना प्राविधिक, हात्तीसारे, आवश्यकता अनुसार सुरक्षाकर्मी र अन्य कर्मचारी परिचालन गरिएको कंडेलले बताए । चितवन राष्ट्रिय निकुञ्जभित्र गस्तीका क्रममा गौरीगाई जम्काभेट हुने क्रम बढेका कारण कुल संख्यामा वृद्धि भएको अनुमान गरिएको कंडेलले बताए ।

त्यसैगरी, गौरी गाईको बासस्थान व्यवस्थापन, शून्य चोरी शिकारीका कारण समेत गौरी गाई बढ्ने कंडेलको भनाइ छ । कसराको पूर्वी क्षेत्रको गौर मचानदेखि सुनाचुरी क्षेत्रका साथै टाइगर टप्स र टेम्पल टाइगर क्षेत्रमा बढी मात्रामा गौरीगाई देखिने गरेको छ । चोरी सिकारीको समस्या त्यति धेरै नदेखिने भए पनि बाघले बच्चा खाइदिने समस्याका कारण गौरीगाईको संख्या वृद्धिमा प्रभाव पर्दै आएको छ । चितवन राष्ट्रिय निकुञ्जलाई १३ वटा ब्लकमा विभाजन गरी सोमबारदेखि १३ वटै ब्लकमा एकै साथ गौरी गाई गणना थालिएको कंडेलले जानकारी दिए ।

संयुक्त राष्ट्रसंघको इन्टरनेसनल युनियन फर नेचर कन्जरभेसनले दुर्लभ जातिको सूचीमा गौरीगाईलाई राखेको छ । निकुञ्जको आन्तरिक बजेटबाट चार लाख रुपैयाँ खर्च गरी गौरी गाई गणना गर्न लागिएको निकुञ्जका सहायक संरक्षण अधिकृत एवम् सूचना अधिकारी नुरेन्द्र अर्यालले बताए । तीन दिनमा गौरी गाईको गणना सम्पन्न गर्ने लक्ष्य रहेको अर्यालले जानकारी दिए । चितवन राष्ट्रिय निकुञ्जमा विगत नौ वर्षदेखि गौरीगाईको गणना भएको थिएन ।

सूचना अधिकारी अर्यालका अनुसार सन् २००७ मा चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्षमा मात्र गौरीगाईको गणना गरिएको थियो । त्यतिबेला चितवन राष्ट्रिय निकुञ्जमा तीन सय १२ र पर्सा वन्यजन्तु आरक्षमा २१ वटा गौरीगाई भेटिएका थिए । सन् २०११ मा पर्सा वन्यजन्तु आरक्षमा विद्यार्थीले अध्ययनका क्रममा गणना गर्दा ३० वटा गौरीगाई फेला परेको प्रतिवेदन बुझाएका थिए ।

1 thought on “चितवनमा गौरी गाई गणना सुरु

Leave a Reply

Your email address will not be published.