महसुल बुझाउन सास्ती

 

हेम रोकाहा
भरतपुर, ०७ बैशाख । विद्युत् प्राधिकरण भरतपुरमा विद्युत् महसुल बुझाउने काउन्टर ग्राहकहरुको भीडले खचाखच भरिएको थियो । सबैजना पसिना चुहाउँदै लाइन बसिरहेका थिए । विद्युत् महसुल बुझाउन आएका यी ग्राहकहरु लामो लाइनमा सास्ती खेपेर विद्युत् महसुल बुझाउन परेको गुनासो गर्दै थिए ।bidhyut-mahasul
भरतपुर–१ ठिमुराबाट महसुल तिर्न प्राधिकरण आइपुगेका गोविन्दबहादुर खत्रीले आफू जहिले आउँदा पनि लाइनमा सास्ती खेप्नु परेको बताए । उनी ८० रुपैयाँ महसुल तिर्नको लागि एक घण्टाभन्दा बढी समय लाइनमा बसेको बताए । लाइनलाई व्यवस्थित गर्ने प्रणाली प्राधिकरणमा नभएकोले समस्या भएको उनले बताए ।
‘महसुल बुझाउन बूढापाकाहरु पनि आएका हुन्छन्’ खत्रीले भने, ‘उनीहरुलाई लाइनमा बस्दा निकै समस्या भएको छ ।’ १०र१५ जनाभन्दा लाइनमा बस्न नमिल्ने भएकाले अन्य ग्राहकहरु घाममा लाइन बस्नुपर्ने बाध्यता रहेको उनले गुनासो गरे । सरकारी कार्यालय भएकाले प्राधिकरणले ग्राहकहरुलाई सुविधा दिनु पर्ने उनको आसय छ ।
महसुल बुझाउन आएकी अर्की ग्राहक भरतपुर–५ निवासी सावित्री पोखरेलले गर्मीको समयमा लाइनमा बसेर महसुल तिर्नुपर्दा निकै समस्या भएको सुनाइन् । विद्युतीय प्रणालीबाट लाइन बस्ने व्यवस्था मिलाउन सके केही राहत हुने उनको विश्वास छ । एउटै मानिसले एकभन्दा धेरै बिलको महसुल तिर्दा पनि अन्यलाई समस्या हुने गरेको उनले गुनासो गरिन् ।
केही समयअगाडि प्राधिकरणले ग्राहकको सेवाको लागि टोकन प्रणाली अर्थात् विद्युतीय लाइन प्रणालीको व्यवस्था पनि गरेको थियो । तर बीचमा सो मेसिन बिग्रेपछि प्राधिकरणले पुनः पुरानै लाइन बस्ने व्यवस्था अवलम्वन गरेको छ । यसबारे प्राधिकरणका केन्द्र प्रमुख रामदुलार यादवले बजेट पारित भएपछि बस्ने स्थानको व्यवस्थापन गर्ने आश्वासन दिए ।
‘ग्राहकहरु बढ्दै गएकोले लाइनमा बस्ने ठाउँ नपुगेको हो’ प्रमुख यादवले भने, ‘त्यसको लागि बजेट प्रस्ताव भइरहेको छ । बजेट पारित भएपछि लाइनमा बस्ने स्थान व्यवस्थित बनाउँछौ ।’ पहिले टोकन प्रणाली पनि सञ्चालनमा थियो भन्ने छ त्यो कहिले र किन बन्द भयो भन्ने बुझेर सम्भव भएसम्म पुनः सञ्चालनमा ल्याउने उनले बताए ।
लाइनमा बस्दा अप्ठ्यारो हुनका साथै कुनै समय झैझगडाको वातावरण पनि बन्ने गरेको छ । त्यसमाथि लाइनमा बस्दा पालो मिच्ने अवस्था पनि आएको छ । साथै कुनै ग्राहकले एकभन्दा धेरै बिलको महसुल बुझाउँदा पनि अन्य ग्राहकहरुलाई थप मार परेको छ । केन्द्र प्रमुख यादवले भने एउटा दुई वटासम्म बिल लिने गरेको र त्यसबाट खासै ढिलो नहुने बताउँछन् ।
‘गाउँतिरबाट एउटै टोलको सबैजनाले एकजना मानिससँग बिल पठाउनु भएको हुन्छ’ उनले भने, ‘त्यस्तोमा हामीले लाइन सकिएपछि अन्तिममा लिने गरेका छौँ । नभए अन्य बेला एउटा दुईवटाभन्दा धेरै बिल एकै जनाबाट लिइँदैन ।’ चितवनपोष्टबाट

Leave a Reply

Your email address will not be published.