डेंगो रोगको संक्रमण आधाले घट्यो

चितवन, ०७ बैशाख । पाँच वर्षअघि महामारीको रुपमा फैलिएको चितवनमा डेंगो रोगको संक्रमण अघिल्लो वर्षभन्दा यस वर्ष झन्डै आधाले घटेको छ ।degu
जिल्लामा विसं २०७१ सालमा एक हजार नौ सय १७ जनाको रगत परीक्षणमा एक सय ४८ जनामा डेंगो संक्रमण भएको थियो तर विसं २०७२ मा एक हजार ७२ जनामा गरिएको परीक्षणमा ८५ जनामा मात्रै रोग देखिएको छ । मध्य क्षेत्रका विभिन्न जिल्लाबाट आएका बिरामीमा डेंगो भएको पाइएको छ ।
जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक निरीक्षक रामकुमार केसीले संक्रमण दर घट्दो क्रममा रहेको जानकारी दिए । विसं २०७२ मा भाइरल ज्वरोका बिरामीहरु पनि कम आएकाले रोग संक्रमण घटेको हो । सहरका घरघरमा ‘डेंगुको लार्भा–प्युपा खोज र नष्ट गर’ अभियान चलाइएको र चेतनामूलक कार्यक्रम गरिएकाले केही सचेतना पनि बढेको केसीको दाबी छ ।
विसं ०६७÷६८ मा चितवनमा डेंगुको महामारी फैलँदा पाँच जनाले ज्यान गुमाएका थिए । विसं २०६९ मा थप एकको मृत्यु भएको थियो । त्यसपछि रोग संक्रमणको दर न्यूनीकरण हुँदै आएको छ । कार्यालयले दिएको तथ्याङ्कअनुसार गएको वर्षको साउनदेखि पुससम्म बढी संक्रमण देखिएको छ ।
माघ, फागुन र चैतमा संक्रमण देखिएको छैन । संक्रमण दर घटे पनि रोग लाग्ने क्रम नरोकिएको भन्दै सचेत हुन कार्यालयले स्थानीयमा आग्रह गरेको छ । एडिस एजेप्टाइ नामको संक्रमित पोथी लामखुट्टेले टोकेमा यो रोग सर्ने चिकित्सकको भनाइ छ ।
यहाँको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेज तथा नारायणी सामुदायिक अस्पतालमा सरकारले उपलब्ध गराएर डेंगोको परीक्षण गर्दै आएको छ । यसको उपचार पद्धति केही नभएकाले आराम गर्ने, झोलिलो पदार्थ खाने र चिकित्सकको सलाहमा औषधि लिने हो ।
त्यसैले लामखुट्टेको टोकाइबाट बच्नु नै यसको मुख्य सावधानी हो । यसले कुनै पनि भाँडामा जमेको पानीमा फुल पार्ने र बच्चा बनाउने भएकाले यस्ता भाँडामा पानी जम्न नदिनु नै उपयुक्त माध्यम हो । गमला, टायर तथा फालिएका प्लास्टिकका भाँडामा जमेको पानीमा यसले फुल पार्ने गर्छ ।
जसबाट लामखुट्टेको विकास भई यसले टोक्दा मानिसमा रोग सार्ने गर्दछ । अहिलेसम्मको अध्ययनमा सहरी क्षेत्रमा यसको संक्रमण बढी छ । नमस्ते बिहानी पत्रिकाबाट

Leave a Reply

Your email address will not be published.