चितवनमा सवारी दुर्घटना, १६ यात्रु घाइते

चितवन, ५ वैशाख । पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुरको टिकौलीमा आज बिहान ट्रकले यात्रुबाहक बसलाई ठक्कर दिँदा बसमा सवार १६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नारायणगढतर्फ आउँदै गरेको ना४ख १४३६ नम्बरको ट्रकलाई सोही दिसाबाट आउँदै गरेको ना४ख ७५७४ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा अघिल्लो ट्रकले काठमाडौँबाट वीरगन्जतर्फ जाँदै गरेको ना५ख २८०७ नंको बसलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परी बसका चालक, सहचालक र यात्रु गरी १६ जना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुमध्ये तीनजनाको भरतपुर अस्पताल र १३ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । ट्रकमा च्यापिएका दुईजनाको क्रेनको मद्दतले उद्धार गरिएको बताइएको छ ।  दुवै ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।