घरेलु हिंसाका घटनामा कमी

आनन्द पोखरेल
चितवन, वैशाख  २ । जिल्ला प्रहरी कार्यालय चितवनमा दर्ता हुने निवेदन मध्ये घरेलु हिंसाका घटनाहरु कम हुँदै गएको देखिएको छ । प्रहरी कार्यालयको महिला सेलमा रहेको विगत चार महिनाको तथ्यांकलाई विश्लेषण गर्दा चितवनमा घरेलु हिंसाका घटनाहरु घट्दै गएको देखिएको हो ।
चितवनमा चालु आर्थिक वर्षको मंसिर महिनामा प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रमा १८ वटा घरेलु हिंसा सम्बन्धी निवेदन दर्ता भएका छन् । त्यसैगरी, पुस महिनामा १२ वटा, माघ महिनामा ११ वटा र फागुन महिनामा १० वटा निवेदनहरु प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रमा परेको छ ।

प्रहरी कार्यालयमा महिला हिंसाका घटनाहरु घट्दै गएको भएपनि महिला तथा बालबालिका सेवा केन्द्रमा पर्ने उजुरीहरु भने उल्लेख्य रुपमा घटेका छैनन् । कुनै महिनामा घटेको उजुरी अर्को महिनामा बढेको देखिन्छ । सेवा केन्द्रमा मंसिर महिनामा जम्मा ३४ वटा उजुरीहरु परेका थिए । मंसिर महिनामा सेवा केन्द्रमा एक जना बालक, एक जना बालिका र १४ जना महिला हराएको उजुरी परेको थियो ।

त्यस्तै, पुस महिनामा एक जना बालक, तीन जना बालिका, १० जना महिला र एक जना पुरुष हराएको निवेदन परेको थियो भने पुस महिनामा जम्मा २७ वटा मात्र उजुरी दर्ता भएका थिए । सेवा केन्द्रमा दर्ता भएका उजुरी मध्ये पुसमा भन्दा माघ महिनामा १० वटा उजुरी बढी पर्दै ३७ वटा उजुरी दर्ता भएका थिए । माघ महिनामा घरेलु हिंसाको घटना घटेको देखिएपनि मानिस हराएको निवेदन धेरै परेको छ ।

माघ महिनामा २६ जना मानिस हराएको उजुरी प्रहरीमा परेको थियो । माघ महिनामा चार जना बालक, तीन जना बालिका, एक जना महिला र १८ जना पुरुष हराएको निवेदन प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रमा परेको थियो ।

त्यसैगरी, फागुन महिनामा ३३ वटा निवेदन परेका मध्ये २३ वटा निवेदन मानिस हराएको परेको छ । कार्यालयको तथ्यांकमा जनाइए अनुसार फागुनमा एक जना बालक, दुई जना बालिका, १८ जना महिला र दुई जना पुरुष हराएका छन् ।