पत्रकार महासंघको नयाँ विधान निर्माण हुने

भरतपुर, २९ चैत । आगामी वैशाख २१ गते चितवनमा हुने नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभामा महासंघले नयाँ विधानको प्रस्ताव पेश गर्न लागेको बताइएको छ । नेपाल पत्रकार समहासंघ चितवन शाखाको आयोजनामा सोमबार भरतपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा केन्द्रीय अध्यक्ष डाक्टर महेन्द्र विष्टले नयाँ विधानको प्रस्ताव गर्न लागिएको जानकारी दिएका हुन् ।
नयाँ विधानको मस्यौदामा केन्द्र, पदेश र स्थानीय तीन तहको संगठन संरचना प्रस्ताव पेश गरिने विष्टले जानकारी दिए । उक्त साधारणसभामा पेशागत र श्रमजीवि पत्रकारको पेशागत तथा भौतिक सुरक्षा सम्बन्धी विशेष प्रस्तावमाथि समेध छलफल गरिने विष्टले बताए । साधारणसभा विधानसभा पनि हुने बताउँदै डा विष्टले साधारणसभामा महासङ्घलाई सङ्घीय ढाँचामा लैजाँदै अझ बढी समावेशी, श्रममैत्री हुने गरी सङ्गठनको पुनःसंरचनासहितको विधान संशोधन प्रस्ताव पेस गरिने बताए ।
नेपाललाई भौगोलिक हिसाबले सात प्रदेशमा विभाजन भए पनि महासङ्घले १० वटा प्रादेशिक संरचनाको प्रस्ताव गर्दैछ । जसमा सात वटा प्रदेश, उपत्यका एक, एसोसिएट एक र प्रतिष्ठान एक गरी १० पु¥याउँदै छ । साधारण सभाको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने बिष्टले जानकारी दिए ।
अध्यक्ष डा विष्टले चितवन शाखाद्वारा आयोजित पत्रकार सम्मेलनमा शाखाको तयारी सन्तोषजनक रहेको बताउँदै महत्वपूर्ण सहयोगका लागि सरोकारवाला सबैसँग अनुरोध समेत गरे । चितवनमा सम्पन्न हुने साधारण सभाले चितवनको पहिचानसहित सकारात्मक सन्देश दिने हुँदा साधारण सभा भव्य र सभ्य बनाउन पत्रकारहरुसँग उनको विशेष आग्रह थियो ।
हाल महासङ्घका ७४ शाखा, ४२ प्रतिष्ठान, १० एसोसिएट र सात विदेशी शाखा रहेका छन् । देशभरका पत्रकारको सङ्ख्या १० हजारभन्दा माथि छ । विशेष महत्वका रुपमा लिइएको साधारणसभामा विभागीय मन्त्री, दलका प्रतिनिधिलगायतका विशिष्ट व्यक्तिको सहभागिता रहने छ ।
पत्रकार सम्मेलनमा स्थानीय मूल आयोजक समितिका संयोजक एवम् महासंघका शाखा अध्यक्ष हरिप्रसाद पोखरेलले साधारणसभा सम्बन्धमा हालसम्म भएका तयारीका विषयमा जानकारी दिएका थिए । साधारण सभा सम्पन्न गर्न शाखाले पोखरेलको अध्यक्षतामा ६१ सदस्यीय स्थानीय व्यवस्थापन समिति गठन गरेको छ । समितिमा महासंघको कार्यसमिति, सल्लाहकार, केन्द्रीय प्रतिनिधि, छिमेकी जिल्लाका शाखा अध्यक्षलगायतका पत्रकारहरु रहेका छन् ।
साधारणसभालाई भव्यताका साथ सम्पन्न गर्न चितवन शाखाले आवश्यक काम अगाडि बढाइसकिएको अध्यक्ष पोखरेलले जानकारी दिए । स्थानीय आयोजक समिति र अन्य उपसमितिहरू गठन गरिसकिएको छ । सम्पूर्ण केन्द्रीय प्रतिनिधिलाई साधारणसभाका लागि तोकिएको स्थानमा भाग लिने व्यवस्था गराउने भूमिकासम्बन्धमा पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । साधारण सभामा देशभरका करिब एक हजार छ सय ५१ पत्रकारहरुको सहभागिता रहनेछ ।

Leave a Reply

Your email address will not be published.