‘समान वितरण गर’

चितवन, २९ चैत । नेपाल राष्ट्र बैंकले सुनचाँदी व्यवसायीहरुलाई दिने गरेको सुनचाँदी थोरै भएको व्यवसायीहरुले गुनासो गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको सोमबार भरतपुरमा भएको दोस्रो साधारणसभा तथा दोस्रो अधिवेशनका क्रममा व्यवसायीहरुले राष्ट्र बैंकले व्यवसायीलाई दिने सुनचाँदी बढाउनुपर्ने माग गरेका छन् ।
sunchadi

साधारणसभाका क्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष अर्जुन रसाइलीले राष्ट्र बैंकले आफूहरुलाई हप्तामा जम्मा ५० किलो सुन दिने गरेको उल्लेख गरे । ५० किलो सुन मध्ये पनि त्यसको ६० प्रतिशत सुन बागमती अञ्चलका लागि दिने र बाँकी ४० प्रतिशत सुन अन्य १३ वटा अञ्चलमा वितरण गर्ने गरेको गुनासो गरे । यो असमान वितरण प्रणाली हटाएर सबै क्षेत्रमा समान रुपमा सुनचाँदी वितरण गर्नुपर्ने रसाइलीको भनाइ थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका सल्लाहकार रणेन्द्र बरालीले आफूहरुसँग देशभरीका २० हजार सुनचाँदी व्यवसायी आवद्ध भएका कारण सरकारले आफूहरुको व्यवसायलाई सुरक्षा प्रदान गर्नुपर्ने बताए । सुनचाँदीमा गुणस्तर कायम राख्नको लागि सरकाले सम्पूर्ण सुनचाँदीको चेकजाँच गर्ने व्यवस्था मिलाउनुपर्ने बरालीको भनाइ थियो । पछिल्लो समय सुनचाँदी चोरीको समस्या बढ्दै गएको कारण यसको निराकरणको लागि राज्यबाट ठोस कदम चालिनुपर्ने बरालीले बताए ।
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका तृतीय उपाध्यक्ष विष्णु कंडेल, सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष ज्ञानेन्द्रमान शाक्य, चितवनका वरिष्ठ उपाध्यक्ष जीवनज्योति सदाशंकर लगायतले मन्तव्य राखेका थिए । नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष मणिरत्न शाक्य प्रमुख अतिथि रहेको कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष विपेन्द्र रामुदामुले गरेका थिए ।