को हुन विक्रम बाबा र किन लाग्छ जगतपुरमा महा मेला ?

सुसन सर्जन रामदाम
चितवन, २९ चैत । चितवन राष्ट्रिय निकुञ्ज कसरा सेक्टर भित्र ठुला ठुला सालको घना रुखले घेरिएको ठाउँ । बीचमा अग्लो माटोको थुम्को अनि त्यसको मध्य भागमा एउटा रुख । वरीपरी काठे खम्बामा घण्टीहरु झुण्डाइएको छ । त्रिशुलहरु गाडिएका छन् । सोही परिसरमा केही विभिन्न आकृतिका माटाका खपेटाहरु,ध्वजा पतका यस्तै छ विक्रम वाबाको वाहिरी रुप र आवरण । तर पनि विक्रम बाबाप्रतिको आस्था र महत्व भने दिन दुई गुना रात चौगुनाको दरले बढिरहेको छ ।
को हुन् विक्रम बाबा
जानकारहरुका अनुसार विक्रमबाबा एक थारु समुदायका गुरौ हुन् । थारु जातिमा झारभुक,जडिबुटीको काम गर्ने बैध जस्तै व्यक्तिलाई गुरौ भनिन्छ । जो थारु समाजमा अतिनै सम्मानित पात्रको रुपमा रहेको हुन्छ । विक्रमबाबा चितवन माडी गर्दी जन्मीएको बताईन्छ ।bikram-baba-1-675x381 विक्रमबाबा यतिनै बेला जन्मीएका हुन् भनेर कुनै इतिहाँसमा संग्रह नभएपनि सयौ वर्ष अगाडि देखिनै विक्रमबाबालाई मान्दै आएको पाइन्छ । विक्रमबाबा यस्ता अद्भुत क्षमताका व्यक्ति थिए जो त्यतिबेला जल,जमिन र जंगललाई आफ्नो जीवनको आधार बनाएर बसेका थारु समुदायको कल्याण गर्दै आएका थिए । विरामी परेकाहरुलाई तन्त्रमन्त्र विधीबाट निको पार्ने,घना जंगलमा एक्लै डुलेर जडीबुटी ल्याएर जनताको सेवा गर्ने गर्दर्थे,जहासम्म कि उनले छोरा छोरी नभएका बाझोपन भएका महिलाहरुलाई जडिबुटी र आफ्नो शक्तिको प्रवाहले परिवारलाई सन्तान सुःख दिलाईदिन्थे भन्ने किंवदन्ती रहेको छ ।
विक्रमबाबा मेलामा हालसालै नियुक्त भएका जगतपुर शितलपानीका गुरौ बाबुराम चौधरीका अनुसार जंगलमा जडिबटी खोज्ने यात्रा र साधानाकै क्रममा विक्रमबाबाको थान रहेको ठाउमानै उनले देह त्यागेको बताइन्छ ।

दैवी शक्ति भएका कारणले उक्त देह त्याग गरेको स्थानमा बेला बखतमा विभिन्न भाडाकुँडा,माटाका आकृतियुक्त खपेटाहरु त्यहाँ चमत्कारिकरुपमा उत्पन्न हुने गरेको बताइन्छ । ति खपेटाहरु अझै पनि त्यहाँ रहेका छन् भने केही संरक्षणको अभावमा हराएर गएका छन् । विक्रमबाबा पछिका केही गुरौमा सपनामा विक्रमबाबा आएर मलाई त्यहाँ आएर सम्झ जसले सवैको भलो हुन्छ भने पछि सुरुवातीमा थारु समुदायका मानिसहरु गएर त्यहाँ पुजा आजा गर्ने गरेका हुन् । गुरौ विक्रम चौधरीले बताए अनुसार सुरुवात थारु समुदायका मानिसहरु दुई तीन देखिनै नुवाई धुवाई र चोखो बसेर विक्रमबाबाको थानमा थाने गर्दथे । नरिवल,सालको लिंगो,सुपारी,परेवा चढाएर विक्रमबाबालाई आफ्नो दुःख सुख साट्ने काम गर्दथे । थारु गुरौहरु पनि विक्रमबाबाको शरण नतमस्तक भएर आफ्ना समुदायमा परेका दुःख कष्टका बारेमा विलौना गर्दथे । उनीहरु प्राथाना पछि विक्रमबाबाले सन्तान सुःख देखिका सवैकुरा पुरा गरिदिने गुरौ चौधरी विगतलाई स्मरण गर्नुहुन्छ । विक्रमबाबामा कुखुरा चढ्दैन तर केहीले चढाएको पाइयो चौधरी दुखेसो पोख्नुहुन्छ । विक्रमबाबालाई विशुद्ध प्राकृतिक ढंगबाट पुजा गुर्नपर्ने चौधरीको भनाई छ । विक्रमबाबा थान मात्र छ मन्दीर बनाउन नहुने पुराना थारु गुरौहरुले पनि उल्लेख गर्दै आएका छन् । विक्रमबाबा प्रकृतिका पुजारी भएकाले पनि कुनै बन्द मन्दीर भित्र बस्न नसक्ने जनविश्वास रहि आएको छ । यसकारण त्यहाँ मन्दीर बनाउन खोजिए पनि त्यो सफल नभएको किंवदन्ती रहेको छ ।
किन बढ्यो आस्था र महत्व
विक्रमबाबाको आस्था र मेला दिनानुदिन बढ्दै गएको छ । चैत महिनामा लाग्ने यस मेलामा लाखौ भक्तजनहरु आउने गर्दछन् । चैत २५ गते देखि मेला लागिरहेको छ । विक्रमबाबाको दर्शन चितवनवासीको लागि त वर्षेनी प्रचलन जस्तै बनेको छ । मेलामा नेपालका प्रमुख शहरहरुका साथै भारतबाट पनि मानिसहरु आउने गर्दछन् । खासगरी बाझोपन रहेका व्यक्तिहरुले भाकल गर्दा त्यो पुरा हुने गरेको धेरैको तथ्य आएको छ । सन्तान सुःखको लागि विक्रमबाबालाई विशेष स्मरण गरीन्छ । वर्षौ देखि बच्चा बच्ची नभएकाहरुको पनि विक्रमबाबामा आएर पुजा आजा गरेर स्मरण गरेपछि सन्तान प्राप्ती भएको कयौन उदाहरण रहेको गुरौ बाबुराम चौधरीले बताए । यसका अलवा घर परिवारमा सुःख शान्ति,ग्रहदशा निवारणको लागि पनि विक्रमबाबालाई स्मरण गरिन्छ ।
धर्मसँगै पर्यटकीय आर्कषण
सामान्य जंगलभित्र रहेको यो आवरणले पछिल्लो समय उल्लेख्य भक्तजनहरुको ध्यान खिच्न सफल भएको छ । विक्रमबाबाको थान चितवन राष्ट्रिय निकुञ्ज कसरा भित्र रहेको छ । जुन भरतपुर सदरमुकाम देखि करिव १८–२० किलोमिटर दक्षिण पर्दछ । विक्रमबाबाको लागि भरतपुर उपमहानगरपालिकाको पटिहानीको बाटो हुँदै पनि आउन सकिन्छ भने अर्को सजिलो गन्तव्यको रुपमा मंगलपुर,पार्वतीपुर,सातनम्बर बजार हुँदै पनि पुग्न सकिन्छ । जगतपुर स्थित कसरा चोकबाट नै विक्रमबाबा मेलाको रौनक र माहोल हेर्दै विक्रम बाबा पुग्ने गरीन्छ ।
विक्रमबाबाको थानमा पुग्नको राप्ती नदीमा डुंगाको व्यवस्थापन गरिएको छ । राप्तीको पुल भएता पनि धर्मकर्मका बेला थप केही आर्कषण होस् भन्ने मान्यताले डुंगाबाट नदि तर्ने व्यवस्था मिलाइएको हो । केही वर्ष अगाडि बने मानिसहरु राप्ता नदि आफै तररे विक्रम बाबा जाने गर्दथे पछिल्लो समय भने सुरक्षालाई पनि मध्यनजर गर्दै डुंगा सयरको व्यवस्था गरिएको हो । डुंगा पार गरेपछि केही मिनेटको जंगल यात्रा पछि विक्रमबाबाको थान पुग्न सकिन्छ । हिड्दा पनि भक्तजनहरुले चितवनको प्राकृतिक आनन्दता हासिल गर्न सक्छन् । चिसापानी खोलामा चराचुरुङगी नाचेको,जरायो यस्तै मौका मिले गैडा पनि देख्न सकिन्छ भने थान पुग्नै लाग्दा हात्तीसारमा रहेका हात्ती र छावा पनि अवलोकनको अर्को दृश्य देखिन्छ । धार्मिक कर्म त हुनेनै भयो अर्को रमणीय वस्तुस्थिती अवलोकन गर्न पाइनुपनि विक्रमबाबा मेलाको अर्को आर्कषण हो । दुर्लभ घडियाल गोहीको प्रजनन र संरक्षण केन्द्रको अवलोकन,राणाकालिन समयमा बनेको कसरा दरबार र म्युजिम अर्को धर्मकर्म सँगै घुम्न पाइने अर्को आर्कषण हो ।
विक्रमबाबा यतिवेला थारु समुदायको मात्र नभई आम नेपालीका लागि आस्थाको केन्द्र बनेका छन् । विक्रमबाबाकै प्रशिद्धीका कारण जगतपुर पटिहानी धार्मिक पर्यटनको केन्द्र मात्र नभई प्राकृतिक पर्यटकीय हिसावले पनि प्रशिद्धि पाएको छ । तसर्थ विक्रमबाबा बाबाको प्रचारप्रसारको दायरालाई अझ अरु बढाउन सकिएको खण्डमा नेपालबाट मात्र नभई विश्वबाट मानिसहरुबाट आई थप प्रशिद्धि कमाउनेछ ।

Leave a Reply

Your email address will not be published.