पूर्वी चितवनमा विद्युत् चुहावट घट्यो

रत्ननगर, २९ चैत । पूर्वी चितवनमा विद्युत् चुहावट नियन्त्रण गर्न छड्के चेकजाँच पुनः सुरु गरिएको छ । विद्युत् चुहावट नियन्त्रण कार्यक्रमअन्तर्गत छड्के चेकजाँचलाई निरन्तरता दिइएको प्राधिकरणका इन्जिनियर प्रितमराज विष्टले जानकारी दिए ।
“प्राविधिक कारणले छड्के चेकजाँच निरन्तर हुन सकेको थिएन”, प्राधिकरणका इन्जिनियर विष्टले भन,“अब हामीले नियन्त्रण कार्यलाई अभियानकै रुपमा लैजान्छौ ।”मिटर नहुँदा रोकिएको छड्के चेकजाँच मिटर आएपछि पुन सुरु गरिएको बताइएको छ । कुनै बेला ६० प्रतिशत सम्म चुहावट हुने गरेको पुर्वी चितवनमा चुहावट नियन्त्रणकै कारण १८ प्रतिशतमा झरेको छ ।
चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्मको तथ्यांकअनुसार यस वितरण केन्द्रमा १८.९३ प्रतिशत मात्रै चुहावट रहेको छ । प्राधिकरणका सुपरभाइजर पुरुषोत्तम बस्यालका अनुसार आर्थिक वर्ष २०७०र७१ मा २७ प्रतिशत चुहावट रहेकोमा २०७१र७२ भने घटेर २४.५३ प्रतिशतमा आइपुगेको थियो । यो तथ्यांकअनुसार पूर्वी चितवनमा विद्युत् चुहावट घट्दो क्रममा छ । पछिल्लो २ महिनाको तथ्यांक हेर्ने हो भने पनि पूर्वी चितवनमा चुहावट निकै घटेको छ ।
माघ महिनामा १३.६८ प्रतिशत चुहावट रहेकोमा फागुनमा १० प्रतिशत मात्रै चुहावट भएको प्राधिकरणका सुपरभाईजर बस्यालले बताए । चुहावट नियन्त्रण कार्यक्रम, मिटर जडान गर्ने कार्य तीव्र र चुहावट गर्न नमिल्ने तार एबीसी केवल जडानपछि चुहावट नियन्त्रणमा निकै प्रगति भएको उनले बताए । गतवर्ष विद्युत् चुहावट नियन्त्रण कार्यक्रमबाट करिब १४ लाख राजस्व संकलन भएको प्राधिकरणले जनाएको छ ।
यसैबीच नेपाल विद्युत प्राधिकरणले विद्युत् चुहावटमा सलग्न ३६ जनालाई नियन्त्रणमा लिई कारबाही गरेको छ । कारबाहीमा परेकाहरुलाई नियमानुसार जरिवाना तिराई छाडिएको प्राधिकरणका सुपरभाईजर बस्यालले बताए । प्राधिकरणका चुहावट नियन्त्रण कार्यक्रम संयोजक इन्जिनियर अन्जनीकुमार यादव र ईन्जिनियर प्रितमराज विष्टको नेतृत्वमा गएको टोलीले ६ थान पानी तान्ने मोटर र २ थान टिभी समेत बरामद गरेको छ ।
चुहावट नियन्त्रण कार्यक्रममा प्राधिकरणका कर्मचारी,नेपाल प्रहरी र शशस्त्र प्रहरीसहित ४० जनाको टोली सहभागी थियो । शनिबार पुर्वी चितवनको खैरहनी र राप्ती नगरपालिकाका विभिन्न स्थानमा छड्के चेकजाँच गरिएको थियो । (कायाकैरनबाट)