संरक्षणमा जुट्दै स्थानीय बासिन्दा

आनन्द पोखरेल
चितवन, २८ चैत । पछिल्लो समयमा चेतना वृद्धिसँगै वन्यजन्तु जोगाउनुपर्छ भनेर चितवनका बासिन्दाहरुमा जागरण आएको छ । केही वर्ष अगाडिसम्म वन्यजन्तुबाट प्रताडित भएका बासिन्दाहरु अहिले आएर तिनै वन्यजन्तुको संरक्षणमा जुटेका हुन् ।
वन्यजन्तुले दिएको दुखका कारण तिनीहरुलाई लखेट्न तत्पर रहने गरेका चितवन राष्ट्रिय निकुञ्ज वरिपरीका जनता अहिले वन्यजन्तुको महत्व बुझेपछि संरक्षणमा जुटेको बताउँछन् । वन्यजन्तुबाट आक्रमणमा परि घाइते भएका व्यक्ति समेत तिनीहरुको संरक्षणमा जुट्न थालेका छन् । भरतपुर उपमहानगरपालिका वडा नम्बर २६ घटगाईँका स्थानीय बासिन्दाहरु पछिल्लो समय अभियान नै चलाएर वन्यजन्तुको संरक्षणमा जुटेका छन् ।
पर्यापर्यटन क्षेत्रको विकास गर्न सकेमा आफूहरुको आम्दानी पनि बढ्ने र वन्यजन्तुको समेत संरक्षण हुने भएकाले संरक्षण कार्यमा लागेको स्थानीयहरुको भनाइ छ । घटगाईँ गाउँ भरतपुर उपमहानगरपालिकामा पर्ने भएपछि पिछडिएको गाउँ हो । गरिब, आदिबासी, जनजातिको बाहुल्यता भएको बस्तीका जनता समेत अहिले आएर वन्यजन्तुको संरक्षणमा जुटेका छन् ।
Rhino

घटगाईँका प्रत्येक व्यक्तिका सहयोगले गैंडाको मूर्ति निर्माण कार्य सम्पन्न भएको वातावरण संरक्षण तथा पर्यटन विकास समिति घटगाईँका अध्यक्ष अपिल घिमिरे बताउँछन् । राप्ती नदी किनारमा रहेको घटगाइँका बासिन्दाहरु पछिल्लो समय नदी किनारको सरसफाइमा समेत जुट्दै चितवन राष्ट्रिय निकुञ्ज गैंडाको प्रमुख बासस्थान भएकोले पर्यटकहरुलाई गैंडाको मूर्ति देखेपछि गैंडाको नजिक आइपुगेछौँ भन्ने आभास गराउन समेत मूर्ति निर्माण गरेको घिमिरेले बताए ।
मूर्ति निर्माण समितिका संयोजक एवम् वातावरण संरक्षण तथा पर्यटन विकास समितिका उपाध्यक्ष रामराज तिवारीले गैंडा जोगाउनुपर्छ र गैंडाको प्रचार प्रसारमा लाग्नुपर्छ भन्ने उद्देश्यका साथ आफूहरुले गैंडाको मूर्ति निर्माण गरेको बताउँछन् । गैंडाको मूर्ति निर्माण गरेको ठाउँ वरिपरी बर्गैचा निर्माण गर्दै सौर्य उर्जा राख्ने प्रयास भएका समेत तिवारीले जानकारी दिए । गैंडाको मूर्ति निर्माणले विश्वबाट लोप हुँदै गएको एकसिंगे गैंडाको संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने तिवारीको भनाइ छ ।
गैंडा लगायतका वन्यजन्तुहरुको संरक्षणमा जुटेपछि गैंडाको संख्या बढ्ने र पर्यटकको आगमनमा समेत वृद्धि हुँदै जाने हिमचुलि महिला समूहकी अध्यक्ष मिना तिवारीको बुझाइ छ । गैंडाको मूर्ति स्थापना गरिनु भनेको पर्यटकीय पूर्वाधारको निर्माण गरिनु भएकाले वन्यजन्तु संरक्षणका अन्य पहलहरु समेत जारी राख्ने तिवारीले बताइन् । वन्यजन्तु संरक्षणमा लागेपछि वन्यजन्तुहरुको संरक्षण हुनुका साथै विदेशी मुद्रा समेत आर्जन गर्न सकिने तिवारी बताउँछिन् ।
पर्यटकहरु घटगार्इँमा पुगेपछि पर्यटकीय क्षेत्रमा पुगेको अनुभूति गराउने उद्देश्यले निर्माण गरिएको गैंडाको प्रतीमा निर्माणमा स्थानीय बासिन्दाहरुको ५० रुपैयाँदेखि ६० हजार रुपैयाँसम्म सहयोग रहेको छ । वैदेशिक रोजगारमा रहेका व्यक्तिले धेरै सहयोग गरेका छन् भने ज्याला मजदुरी गर्ने स्थानीयले संरक्षणमा आफूहरुको सहभागिता जनाउन छाक काटेर थोरै भएपनि सहयोग गरेका छन् । घटगाइँमा पर्यटनको विकास गर्नको लागि माछा मारेरै भएपनि सहयोग गर्नुपर्छ भन्ने लागेपछि आफूले माछा बेचेको पैसा पर्यटन प्रवद्र्धनमा खर्च गरेको सोमलाल बोटेले बताए ।
चितवन राष्ट्रिय निकुञ्जसँगै जोडिएको गाउँका अधिकांश बासिन्दाको आयस्रोत भनेको ज्याला मजदुरी नै हो । घर मात्र निर्माण गर्ने जग्गा जमिन भएका स्थानीयहरु जंगलमा पाइने निउरो, जलुका जस्ता तरकारी बेचेर जीविका चलाउनुका साथै कृषी मजदुरी समेत गर्दै आएका छन् । घटगाईँकी रितु महतोले आफूले जंगलमा गएर टिपेर ल्याएको निहुरो बेचेर वन्यजन्तु संरक्षणको लागि सहयोग गरेकी छिन् । दुर्लभ वन्यजन्तुको संरक्षण गरेमा नेपालमा विदेशबाट पर्यटकहरु आउने र नेपालको विकास हुने बुझाइका साथ निहुरो बेचेको केही पैसाबाट संरक्षणको लागि खर्च गरोको बताउँछिन् ।
सरकारी तथा अन्य कुनै संघसंस्थाको सहयोग विना नै घटगाईँका गाउँलेहरु संरक्षण क्षेत्रमा लागेका छन् । भविष्यमा उपमहानगरपालिका र जिल्ला विकास समितिसँग हातेमालो गर्दै वन्यजन्तुको संरक्षणमा जुट्दै पर्यटन प्रवद्र्धनमा लाग्ने उनीहरुको योजना रहेको छ । जंगली जनावरबाट पीडित बासिन्दा नै तिनीहरुको संरक्षणमा जुट्नुले नेपालमा पर्यापर्यटनको क्षेत्रमा ठूलो सम्भावना भएको पुष्टि हुन्छ । लोपोन्मुख वन्यजन्तुहरुको संरक्षणमा आजैदेखि जुट्न सकियो भने संरक्षणमा टेवा पुग्नुका साथै पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण भूमिका खेल्ने थियो ।

Leave a Reply

Your email address will not be published.