हात्ती महोत्सवबाट ४ लाख ७२ हजार बढी नाफा

चितवन, २७ चैत । पर्यटकीय नगरी सौराहामा आयोजना गरिएको १२ औं चितवन हात्ती महोत्सवको शनिवार आम्दानी खर्चको विवरण सार्वजनिक गरिएको छ ।
क्षेत्रीय होटल संघको आयोजनामा पुस ११ गते देखि १५ गते सम्म हात्ती महोत्सव भएको थियो । विभिन्न संघसंस्थाबाट सहयोग जुटाएर गरिएको सो महोत्सवबाट ४ लाख ७२ हजार ६ सय ७५ रुपैया नाफा भएको संघले जनाएको छ ।
महोत्सवमा ३१ लाख ६१ हजार ६६४ अम्दानी भएको र २६ लाख ८६ हजार ५७५ खर्च भएको आर्थिक समितिका संयोजक तथा संघका कोषाध्यक्ष अञ्जन कुमार पाण्डेले जानकारी दिए । कार्यक्रमम महोत्सवका संयोजक तथा संघका प्रथम उपाध्यक्ष सुमन घिमिरेले हरेक बर्ष सौराहामा हुने हात्ती महोत्सवले चितवनको पर्यटन प्रर्बधनमा टेवा पुगेकोले यसलाई जिल्लाको ब्राण्डको रुपमा विकास गर्नुपर्ने बताए । रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत काशिराम गैरे प्रमुख अतिथि रहेको सो कार्यक्रममा राष्टिय प्रकृति संरक्षण कोष सौराहाका प्रशासकीय अधिकृत रामकुमार अर्याल,मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बासु ढुंगाना,रेवान सौराहाका अध्यक्ष राजन भट्ट,चितवन राष्टिय निकुञ्जका सहायक संरक्षण अधिकृत रमेश यादव,युनाईटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपक भट्टराई,संघका पूर्व अध्यक्ष गिरिधारी चौधरी लगायतले वोलेका थिए । कार्यक्रम संघका अध्यक्ष ज्ञानेन्द्र कुमार विष्टको अध्यक्षतामा भएको थियो ।