मेघौलीमा करिब १७ करोडको लागतमा खानेपानी आयोजना सम्पन्न

चितवन, २७ चैत ।पश्चिम चितवनको मेघौलीमा करिब १७ करोड रुपैयाँको लगानीमा खानेपानी आयोजना सञ्चालनमा आएको छ । स्वच्छ खानेपानीको अभावमा मेघौलीका स्थानीय बासिन्दाहरु आर्सेनिक मिसिएको पानी पिउन बाध्य थिए ।khanepani-1024x768

आर्सेनिक युक्त पानीबाट स्थानीयहरुमा स्वास्थ्य सम्बन्धी विभिन्न समस्या देखिएपछि विभिन्न संघसंस्थाको पहलमा मेघौली साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्माण गरि खानेपानी आयोजना संचालनमा ल्याइएको हो । नारायणी नगरपालिका वडा नम्बर ३ मा स्थापना गरिएको आयोजनाबाट साविकको मेघौली गाविसका करिब एक हजार सात सय ६५ घरधुरीलाई शुद्ध पानी उपलब्ध गराउने लक्ष्य रहेको संस्थाकी कार्यबहाक अध्यक्ष मिना न्यौपानेले बताइन् ।

दुई सय ५० घनमिटरको ओभरहेड टंकी र दुई सय घनमिटरको रिजर्भ टंकी गरि चार सय ५० घन मिटरको टंकीबाट पानी वितरण गर्दै आएको न्यौपानेले जानकारी दिइन् । एक सय सात मिटरको गहिराईका दुई वटा बोरिङबाट २४ सै घण्टा पानी वितरण गर्दै आएको न्यौपानेले बताइन् ।

निर्माणको जिम्मा पाएको शर्मा, चन्द्रा एण्ड बसन्त एएम जेभीले निर्माणको जिम्मा लिएको र काम सम्पन्न भएपछि संस्थालाई आयोजना हस्तान्तरणका प्रक्रियामा लागेको आयोजना प्रमुख सोहम सिंह बस्नेतले जानकारी दिए ।

मेघौली क्षेत्रमा शुद्ध पानी वितरणको लागि ५८ किलोमिटर पाइप बिच्छाइएको र विक्रम सम्वत् २०७१ सालको फागुनदेखि परीक्षणको रुपमा पानी वितरण गर्दै आएको बस्नेतले जानकारी दिए । अहिले निर्माण भएको संस्थाको ट्यांकीबाट आगामी २० वर्षसम्म मेघौली क्षेत्रको जनसंख्यालाई खानेपानीको समस्या टार्नसक्ने हिसाबले आयोजना निर्माण गरिएको बस्नेतले बताए ।

पानीलाई एरिएटर प्रविधिबाट शुद्धिकरण गरेपछि मात्र उपभोक्ताको धारामा पठाइने गरेको बताइएको छ । खानेपानी आयोजना निर्माणको लागि स्थानीय उपभोक्ताको ५० प्रतिशत लगानी र नेपाल सरकारको ५० प्रतिशत साझेदारी रहेको जनाइएको छ । मासिक १० युनिटसम्मको पानीको खपत गर्ने उपभोक्ताले न्यूनतम शुल्क एक सय ६० रुपैयाँ तिर्दै आएका बताइएको छ ।

Leave a Reply

Your email address will not be published.