पर्यटन र वातावरणबारे तालिम

माडी, २० चैत । जिल्ला विकास समिति चितवनको सहयोगमा चितवन पर्यटन विकास समितिले माडी नगरपालिका ११, शिवद्वारस्थित मगर होमस्टेमा पर्यटन तथा वातावरण सचेतना सम्बन्धी दुईदिने तालिम शनिबार सम्पन्न गरेको छ ।
पर्यटनसँग सरोकार राख्ने माडी क्षेत्रका ४० जना सहभागी तालिमको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले शुक्रबार उद्घाटन गरेका थिए । उद्घाटन सत्रलाई सम्बोधन गर्दै कँडेलले संरक्षणका लागि समुदाय र समुदायका लागि संरक्षण आवश्यक हुने बताए ।
जिविस चितवनका पर्यटन शाखा प्रमुख प्रकाशचन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न तालिममा पर्यटनविद् रामचन्द्र सेढाइँ र चितवन पर्यटन विकास समितिका महासचिव विश्वराज सुवेदीले प्रशिक्षण दिएका थिए । तालिमको उद्घाटन तथा समापन समारोहमा पूर्वसांसद तीर्थराज भुसाल, पर्यटन मार्गका संयोजक नारदमणि पौडेल, एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य सन्देश पौडेललगायतले मन्तव्य व्यक्त गरेका थिए । उनीहरुले समग्र माडीको विकासका लागि माडी विकास समिति निर्माण गरिनुपर्ने बताए ।