नया वर्षमा नारायणी नदी किनारमा धार्मिक महामहोत्सव २०७३ हुने

शंकर निर्देश
गैडाकोट, चैत २० । नवलपरासीको गैडाकोटस्थित नारायणी नदी किनारमा धार्मिक महामहोत्सव २०७३ हुने भएको छ ।
नया वर्ष २०७३ सालको अवसरमा बैशाख १ गतेदेखि हिन्दु धर्म संरक्षण धार्मिक महामहोत्वको आयोजन गर्न लागिएको हो ।
बैशाख १५ गतेसम्मका लागी विश्वजागरण महाअभियान ट्रस्ट तथा यज्ञ सम्पादन मूल समितीको आयोजना र उद्योग वाणिज्य संघ गैडाकोटको सहआयोजनमा महोत्व हुन लागेको हो ।
देवघाटमा भूकम्पबाट पीडित भएका बालबालिकाहरुको लागी सुविधायुक्त आवासिय गुरुकूल निर्माणका लागी सहयोग होस् भन्ने हेतुले मोक्षधाम सेवा आश्रमको व्यवस्थापनमा महोत्सव गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।
महोत्सवमा श्रीमद्भागवत पितृमोक्षको कार्यक्रम एवम् १ करोड ११ लाख पार्थिक शिवलिंगको पूजा गरी ११ लाख रुद्राक्ष अर्पन गरिने विश्वजागरण महाअभियान ट्रस्ट तथा मोक्षधाम सेवा आश्रमका संरक्षक एवम् अध्यक्ष कथावाचक ईश्वरकृष्ण महाराज आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।
महोत्सवमा सन्तहरुबाट प्रवचन सुन्ने, भजन किर्तन एवम् झाकी प्रदर्शन, बाह्मणहरुद्वारा पितृमोक्ष संकल्प लगायतका कार्यक्रमहरु गरिने कार्यक्रम संयोजक अमृत भट्टचनले बताउनुभयो । महोत्सव सम्पन्न गर्नका लागी १५ लाख रुपैया भन्दा बढी खर्च लाग्ने आयोजकको अनुमान रहेको छ ।
महोत्सव अवधिभर १ करोड रुपैया भन्दा बढीको आर्थिक एवम् भौतिक संरचनाहरु जुट्ने आयोजकले अनुमान गरेको बताएको छ ।
महोत्सवको समापनपछि भने प्रारम्भिक चरणमा विभिन्न ५० जना बालबालिकालाई पालन पोषण गर्ने जिम्मा समेत आफुहरुले लिने आयोजकले पत्रकार सम्मेलनको अवसरमा जानकारी गराएको छ ।