तरुल खाएपछि भरतपुर कारागारका ६ कैदी बिरामी

चितवन, २० चैत । चितवनको भरतपुर कारागारमा सिमल तरुल खाएका ६ जना कैदी र थुनुवा बिरामी परेका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको कारागारका जेलर कमल काफ्लेले जानकारी दिनुभयो । बिहीबार मकवानपुरबाट एकजना कैदीका आफन्तले सिमल तरुल ल्याएका थिए ।
तरुल खाएकामध्ये ६ जना बिरामी भएपछि अस्पताल पठाइएको काफ्लेले जानकारी दिनुभयो ।
एघार जनाले तरुल खाएकामा पाँचजना सामान्य उपचारपछि फर्किएको भए पनि ६ जनालाई अस्पताल भर्ना गरिएको र अहिले भरतपुर अस्पतालमा उनीहरुको उपचार भइरहेको जनाइएको छ ।
चेकजाँच गरेर तरुल कैदी र थुनुवालाई खान दिइएको थियो । बिहीबार तरुल खाएका उनीहरु शुक्रबारदेखि बिरामी पर्न थालेका थिए ।
कारागारभित्रैको औषधि दिँदा झन् ज्वरो बढेपछि उनीहरुमध्ये हिजोसाँझ पाँचजनालाई अस्पताल पठाइएको जेलर काफ्लेले आज जानकारी दिनुभयो ।
फेरि साँझ तरुल खाएका अर्का पनि बिरामी परेपछि सबै बिरामी हुने आशङ्कामा गएराति ११ जनालाई नै अस्पतालमा उपचारका लागि लगिएको उहाँको भनाइ छ ।