शुक्रबारदेखि चितवनमा चौधरी समूहको ‘ताज होटल’ सञ्चालमा आउने

पुष्प दुलाल
चितवन, १७ चैत। चितवनको मेघौलीमा चौधरी समूहको लगानीमा ‘सेभेन स्टार’ स्तरको सुविधा दिने रिसोर्ट यही शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ ।
धनाड्य पर्यटक भित्र्याउने उद्देश्यले स्थापना भएको ताज होटल रिसोर्ट एण्ड प्यालेस केही समयदेखि परिक्षण सञ्चालन भइरहेको थियो ।chaudhari-group-hotel-chitw-768x399
‘होटल सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ, अप्रिल १ ९शुक्रबार० होटलको औपचारिक उदघाटन गर्दैछौं’ चौधरी समूहका कर्पोरेट कम्युनिकेशन एवं पब्लिक रिलेसन मामिला सम्बन्धी महाप्रवन्धक मधुसुदन पौडेलले अनलाइनखबरसँग भने ।
यो होटलमा शतप्रतिशत चौधरी समूहको लगानी भएको र व्यवस्थापनको जिम्मा भारतको चर्चित ताज होटललाई दिइएको पौडेलले जानकारी दिए ।
‘सुरुमा जिङ्क जर्नी चितवनका नामबाट होटल सञ्चालन गर्ने बताइएको थियो तर, पछि ताज होटललाई व्यवस्थापनको जिम्मा दिएर नाम परिवर्तन गरि ताज होटल बनाइएको हो ।’ उनले भने । सन् २०१५ सम्ममा सञ्चालनमा ल्याउने उद्देश्य रहेपछि देशको परिस्थितिका कारण केही महिना ढिला भएको हो ।
महाप्रबन्धक पौडेलका अनुसार रिसोर्ट सञ्चालनमा आएपछि चितवनको गुणस्तरीय पर्यटकमा विकास हुने चौधरी समूहको विश्वास छ । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको यो रिसोर्ट विदेशी पर्यटकहरुलाई जंगल सफारीको उत्कृष्ट सेवा दिने उद्देश्यले स्थापना गरिएको हो ।
रिसोर्टमा पर्यटकहरुले जंगल सफारीका लागि ख्यातिप्राप्त अन्तराष्ट्रिय रिसोर्टहरुमा पाउने सबै सुविधाहरु पाउने उनले बताए । ‘होटलका कोठाहरु नै प्राकृतिक अनुभव पैदा गर्ने खालका हुनेछन्, जहाँ बस्दा पर्यटकहरुलाई प्रकृतिमै बसेजस्तो महसुस हुनेछ,’ पौडेलले भने ।
राप्ती नदी किनारामा रहेको यो होटलमा सुरुमा २७ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । तर, निर्माण गर्दै जाँदा अनुमानको आधारमा निकै बढी लगानी भएको बतइएको छ ।
चितवनमा यति ठूलो लगानीमा सञ्चालन भएको संभवत यो पहिलो रिसोर्ट हुनेछ । रिसोर्टमा १३ भिल्ला, दुई प्रेसिडेन्सियल स्वीट रुम, १२ वटा साधारण कोठा रहनेछन् । हरेक भिल्लामा छुट्टाछुट्टै स्वीमिङ पुल रहनेछन् ।
जंगल सफारी, जंगली जनावार एवं बनस्पतिको अनुसन्धानमा चासो हुनेहरुका लागि ठूलो आकर्षण हुने समूहको विश्वास छ ।
त्यसैगरी, पर्यटकहरुलाई निकुञ्जमा सफारी गराई वाइल्ड लाइफको मज्जा दिलाउने, जंगलमा पैदल यात्राको अनुभव गराउने र स्थानीय थारु क्ला तथा संस्कृतिको बारेमा जानकारी गराउनेलगायतका सेवा सुविधाहरु उपलब्ध गराइने छ ।
पछिल्लो समय जंगल सफारीमा विश्वका धनाढ्यहरुको आकर्षण बढ्दै गइरहेको छ । अफ्रिका महादेशमा जंगल सफारीका लागि जाने धनाढ्य पर्यटकहरु जिंकको ब्राण्डलाई पछयाउदै नेपालतर्फ पनि तानिनेछन् । पर्यटक भित्र्याउन अन्तराष्ट्रिय बजारीकरण गर्ने योजना चौधरी समूहले जनाएको छ ।
रिसोर्टको डिजाइन सिंगापुरको ‘इको आइडी’ कम्पनीले गरेको हो । भरतपुर एयरपोर्टबाट ३३ किलोमिटरको दूरीमा रहेको रिसोर्टको लक्ष्य प्लेन चार्टड गरेर घुम्न निस्कने पर्यटकलाई समेत सोझै रिसोर्टमा ल्याउन सकिने व्यवस्था मिलाएको पौडेलले जानकारी दिए ।
पछिल्लो समयह चौधरी समूह नेपालमै होटल उद्योगमा लागानी गर्न आकषिर्त भएको हो । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीका दुई छोराहरुले सम्हाल्ने अन्तराष्ट्रिय कम्पनी सिनोभेसन सिजीले भारत, माल्दिभ्स, श्रीलंका, अमेरिका, मलेसिया लगायतका विश्व बजारमा पाँचतारे सुविधा सम्पन्न होटल सञ्चालन गरिरहेको छ । यो समूहसँग विश्व बजारमा प्रख्यात होटल ब्रान्ड ताज व्यवस्थापन र सञ्चालनको अनुभव छ ।