मासु पसलको अनुगमन सुरु

आनन्द पोखरेल
चितवन, १६ चैत । नेपाल सरकारले आइतबारदेखि सञ्चालन गरेको सप्ताहव्यापी स्वच्छ तथा स्वस्थ मासु अभियान अन्तर्गत चितवनमा मासु पसलहरु अनुगमन गरिएको छ । सप्ताहव्यापी रुपमा मनाउन लागिएको कार्यक्रम अन्तर्गत मंगलबार मासु पसलको अनुगमन थालिएको हो ।
मंगलबार भरतपुर क्षेत्रका छ वटा मासु पसलको अनुगमन गरिएकोमा तीन वटा पसल मापदण्ड विपरित सञ्चालन भएको पाइएको छ । अनुगमनका क्रममा तीन वटा मासु पसलले सामान्य मापदण्ड पनि पुरा नगरेको पाइएको हो । अव्यवस्थित रुपमा सञ्चालन गरिएको मासु पसलमा मासुलाई सुरक्षित बनाउनका लागि हुनुपर्ने डिफ्रिज समेत नराखेको पाइएको छ । केही मासु पसलमा मूल्य सूचि नभएको र केहीमा सरसफाईको कमी भएको पाइएको हो । भरतपुर १० रिजालचोकमा रहेको एकीकृत मासु बिक्री केन्द्रमा मूल्य सूचि भेटिएको थिएन भने मालिका फ्रेस हाउसको दर्ता कागजपत्र पसलमा भेटिएन ।
गुरुङ मासु पसल हाकिम चोकमा मापदण्ड नै पूरा नगरि सामान्य तरिकाले मासु बेच्दै गरेको भेटिएको छ । जिल्ला पशु सेवा कार्यालय चितवन, जिल्ला प्रशासन कार्यालय चितवन र भरतपुर उपमहानगरपालिकाले संयुक्त रुपमा मासु पसलको अनुगमन गरेका हुन् । मानिसको स्वास्थ्यसँग जोडिएको मासु काट्ने ठाउँदेखि भान्छासम्म पुगोस् भनेर अनुगमन थालिएको जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख वरिष्ठ पशु चिकित्सक डाक्टर रामकुमार कार्कीले बताए ।
Anugaman Masu

संयुक्त अनुगमनको क्रममा भेराइटि मिट शप हाकिम चोकमा बेच्न राखिएको मासु दुर्गन्धयुक्त भेटिएको थियो । खसी, कुखुरा तथा भैंसीको मासु बिक्री गरिने मासु पसल अनुगमन गरिएकोमा कुखुराको मासु बिक्री गर्ने पसलहरु मापदण्ड विपरित भएको पाइएको हो । भरतपुर उपमहानगरपालिकाले बेलाबेलामा अनुगमन गर्दै कारबाही गर्ने भएपनि प्रभावकारी हुन नसकेको नगर प्रहरी प्रमुख मित्र बहादुर तामाङले बताए । नगरभित्रका मासु पसलले अनुगमन पूरा नगरि सञ्चालन गरेको पाइएमा नगरपालिकाले जरिवानामात्र तिराउन पाउने र अन्य कारबाही गर्न नपाउने भएकाले प्रशासनबाट नै प्रभावकारी हुनुपर्ने तामाङको भनाइ छ ।
मंगलबारको अनुगमनबाट मापदण्ड अनुसार सञ्चालन नभएको भेटिएका मासु पसलहरुलाई कारबाहीको लागि सिफारिस गरिने जिल्ला प्रशासन कार्यालय चितवनका खाद्य निरीक्षक नविन देउजाले बताए । प्रमुख जिल्ला अधिकारी समक्ष सबै प्रतिवेदन पेश गरिने र छलफलपछि के कारबाही गर्ने भन्ने निर्णय हुने देउजाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published.