चीनबाट फर्केपछि ओलीका चुनौतीः माधव, शेरबहादुर र मधेस
१६ चैत, काठमाडौं । अबको १० दिनपछि प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री भएको ६ महिना पुग्दैछ । चीनबाट फर्किनासाथ प्रधानमन्त्री ओली आफ्नो ६ महिने कामको फेहरिस्त तयार पार्ने अभियानमा लागेका छन् ।
प्रधानमन्त्री निकटवर्तीहरुका अनुसार सरकारले आगामी चैत २६ गते ६ महिना कामको विवरण सार्वजनिक गर्दैछ । यसको तयारी गर्न प्रधानमन्त्री ओलीले सम्वद्ध निकायलाई निर्देशन दिइसकेका छन् ।
तर, ओली नेतृत्वको सरकारले ६ महिने अवधि पूरा गर्दै गर्दा सरकार परिर्वतनको बहसले पनि तिव्रता पाएको छ । विशेष गरी कांग्रेसले संसदीय दलको नेता छानिसकेपछि प्रधानमन्त्री ओलीले सरकार परिर्वतनसहित एकै साथ तीनवटा चुनौतीहरु सामना गर्नुपर्ने देखिएको छ ।
पहिलो चुनौतीः एमालेको आन्तरिक संकट
चैत अन्तिम साता प्रधानमन्त्री ओली आफ्नो दल नेकपा एमाले आन्तरिक बैठकमा जुट्नेछन् । संगठनात्मक विषयमा छलफल गर्न सुरुमा पोलिटब्यूरो र त्यसपछि केन्द्रीय समितिको बैठक बोलाइएको छ ।
प्रधानमन्त्री ओली एमाले अध्यक्ष रहे पनि गुटकै शैलीमा पार्टी चलाएको माधवकुमार नेपाल पक्षले आरोप लगाउँदै आएको छ ।
केपी ओली झण्डै दुई दशक एमालेमा प्रतिपक्षी भूमिका रहे र उनले गुट मात्रै चलाए । त्यसैले पार्टी अध्यक्ष भएपछि पनि त्यही गुटकै भरमा चल्न खोजेको नेपाल पक्षको आरोप छ ।
आगामी बैठकमा पार्टीका विभागहरु गठन लगायतका एजेण्डामा छलफल हुने बताइएको छ । त्यस क्रममा अध्यक्ष ओली माधव नेपाल पक्षको आलोचनाको केन्द्रमा हुने लगभग पक्का छ ।
तर, बैठकको पूर्वसंन्ध्यामा दुई छिमेकी मुलुक भारत र चीनको भ्रमण गरेर आएका प्रधानमन्त्री ओली पार्टी नेताहरुका सामू सजिलै गल्ने छैनन् । एमालेका एक नेताले भने, ‘उहाँ अहिले चीनबाट सिंह बनेर आउनुभएको छ, त्यसैले उहाँले घ्यारघ्यार गर्ने भनेको हामीलाई नै हो । तर, हामी पनि कम छैनौं ।’
दोस्रो चुनौतीः सरकारमा देउवाको नजर
केपी ओली प्रधानमन्त्री भएको ६ महिना पुग्न ठीक दुई दिन अघि सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको चुनाव हुँदैछ । र, यो चुनाव सरकारको भविश्यसँग पनि जोडिएको छ ।
कांग्रेसका सभापति शेरबहादुर देउवा संसदीय दलको नेता हुने ‘ओपन सेक्रेट’ जस्तै भइसक्यो । उनको पक्षमा अहिले नै बहुमत देखिएको छ । यद्यपि उनले अझै उम्मेदवारी घोषणा गरेका छैनन् । तर, देउवाले आफ्ना निकटवर्तीहरुको मुखबाट बोलाइसकेका छन् ।
देउवा आफैं संसदीय दलको नेता हुन खोज्नु भनेको फेरि एकपटक प्रधानमन्त्री हुने तयारी पनि हो । त्यसै पनि देउवालाई ‘पावर हंगर’ का रुपमा लिइन्छ । उनी सभापति चयन भएलगत्तै निकटवर्तीहरुले अब देउवाको नेतृत्वमा नयाँ सरकार बन्छ भन्दै आएका छन् ।
देउवालाई ओली सरकार ढालेर सरकार बनाउन त्यति सजिलो छैन । देउवाले ओली सरकारमा रहेको एमाओवादीलाई आफ्नो पक्षमा ल्याउन नसकेसम्म उनी प्रधानमन्त्री बन्ने सम्भावना छैन
देउवानिकट स्रोतहरुका अनुसार संसदीय दलको चुनावपछि एकपटक सरकार फेर्ने कसरत हुनेछ । देउवा निकट नेताहरुको प्रस्तुती यस्तो छ कि सरकार त बन्ने निश्चित भइसक्यो, दलको नेता चयन गर्न मात्रै बाँकी छ ।
तर, देउवालाई ओली सरकार ढालेर सरकार बनाउन त्यति सजिलो छैन । देउवाले ओली सरकारमा रहेको एमाओवादीलाई आफ्नो पक्षमा ल्याउन नसकेसम्म उनी प्रधानमन्त्री बन्ने सम्भावना छैन ।
एमाओवादी अहिल्यै ओली सरकार ढालेर देउवाको नेतृत्वमा सरकार बनाउने निर्णयमा पुगिसकेको छैन । उसले आफ्नो नेतृत्वमा भए मात्रै सोच्ने बताएको छ ।
तेस्रो चुनौतीः मधेस आन्दोलन
एमाले पार्टीभित्रको आन्तरिक किचलो र सरकार ढाल्ने देउवाको खेलसँगै ओली सरकारले मधेस आन्दोलनलाई पनि एकसाथ सामना गर्नुपर्ने देखिएको छ । मधेसी मोर्चाले आफ्ना ११ बुँदे माग पूरा गर्न माग गर्दै सरकारलाई दिएको अल्टिमेटम चैत मसान्तमा सकिनेछ ।
मधेसी मोर्चा अहिले नयाँ आन्दोलन घोषणाको गृहकार्यमा जुटेको छ । र, केही दिनमा अबको आन्दोलनको स्वरुपबारे निर्णय हुने मधेसी मोर्चाका नेताहरुले बताएका छन् ।
मधेसी मोर्चा फेरि आन्दोलनमा गएको अवस्थामा ओली सरकारमाथि छिमेकीबाट पनि दबाब पर्दैन भन्न सकिन्न
आन्दोलनको स्वरुप जे भए पनि वैशाख लाग्दा नलाग्दै मधेसी मोर्चाले आन्दोलन सुरु गर्ने देखिएको छ । यो आन्दोलनले सरकारको समीकरणमा त कुनै फरक नपर्ला तर, सरकारमाथि सबैभन्दा बढी दबाब भने पर्नेछ ।
झण्डै ६ महिनासम्म चलेको मधेस आन्दोलनका क्रममा छिमेकी मुलुक भारतले नेपालमाथि नाकाबन्दी गरेको थियो । भारतकै दबाबमा संविधान संशोधन भएपछि नाकाबन्दी त हट्यो तर, उसले बाँकी मुद्दालाई छाडेको छैन ।
यदि मधेसी मोर्चा फेरि आन्दोलनमा गएको अवस्थामा ओली सरकारमाथि छिमेकीबाट पनि दबाब पर्दैन भन्न सकिन्न । मधेसको बाँकी मुद्दा भनेको प्रदेशहरुको सीमांकनसहितका विषय छन् । जसमा ओलीले तत्काल केही गर्न सक्ने अवस्था पनि छैन ।