जनकपुर र भैरहवा क्वाटर फाइलनमा प्रवेश

नारायणगढमा सुरु भएको दोस्रो नेपाल मारवाडी क्रिकेट लिग अन्तर्गत सोमबारसम्म भएको लिग चरणको खेलबाट मारवाडी युवा मञ्च जनकपुर मारवाडी युवा मञ्च भैरहवा क्वाटर फाइलनमा प्रवेश गरेका छन् ।
जनकपुरले चितवन र हेटौंडाको समूहलाई पराजित गर्दै क्वाटर फाइलनमा आफ्नो स्थान सुरक्षित गरेको हो । त्यसैगरी, भैरहवाले नेपालगञ्ज र धनगढीलाई हराउँदै क्वाटर फाइलनको यात्रा तयार पारेको हो । लिग चरणको दुवै खेल आफ्नो पक्षमा पार्दै जनकपुर र भैरहवा क्वाटर फाइलनमा प्रवेश गरे भने दुवै खेलमा पराजित भएर नेपालगञ्ज घर फर्किएको छ ।
धनगढीले एक खेल जितेको हुनाले क्वाटर फाइनल प्रवेशको लागि अझै पनि सम्भावना देखिएको छ । यस अगाडि धनगढीले नेपालगञ्जलाई पाँच विकेटले पराजित गरेको थियो । धनगढी क्वाटर फाइनलमा प्रवेश गर्ने कि नगर्ने भनेर मंगलबार हुने खेलले निर्धारण गर्नेछ ।
सोमबार जनकपुरसँग भएको खेलमा धनगढी ४७ रनले पराजित भएको छ । धनगढी क्वाटर फाइनल प्रवेशको लागि चितवन र हेटौंडाबीच मंगलबार हुने खेलमा एक समूहले झिनो अन्तरले विजयी हुनुपर्नेछ । यस अगाडि भएको खेलमा हेटौंडा जनकपुरसँग एक सय छ रनले पराजित भएको थियो भने चितवन जनकपुरसँग आठ विकेटले पराजित भएको थियो ।
क्वाटर फाइनल प्रवेश गर्नको लागि चितवन र हेटौंडाका दुवै टिमलाई रन रेट वा विकेटमा ठूलो अन्तर आवश्यक देखिन्छ । मंगलबारको खेलमा राम्रो रनरेट जोड्दै हेटौंडालाई सस्तैमा समेट्न सकेको खण्डमा चितवनले क्वाटर फाइलनको यात्रा तयार गर्ने छ । अन्यथा रन रेटको आधारमा धनगढीले क्वाटर फाइलनमा स्थान सुरक्षित बनाउने छ ।
मारवाडी क्रिकेट लिगको पश्चिम क्षेत्रको खेल नारायणगढमा भएको छ भने पूर्वको खेल बिराटनगरमा भइरहेको छ । दुवै तर्फको समूह विजेतले चैत २२ बिराटनगरको शहिद मैदानमा फाइनल खेल्ने पश्चिम क्षेत्रका खेल संयोजक नितेश महेश्वरीले बताए । प्रतियोगितामा जम्मा १२ टोली सहभागी भएका छन् ।
प्रतियोगिताको विजेताले ७५ हजार रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने संगठनका केन्द्रीय अध्यक्ष कञ्चनकुमार अग्रवालले बताए । उप–विजेताले भने ३१ हजार रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझचाउनुपर्नेछ । पश्चिम क्षेत्र अन्तर्गत नारायणगढमा भएको खेलमा जनकपुर, हेटौंडा, चितवन, भैरहवा, नेपालगञ्ज र धनगढीका मारवाडी युवा मञ्चले सहभागिता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published.