अनुसन्धान प्रकृया प्रभावकारी भएन

रत्ननगर, १६ चैत । अनुसन्धान प्रक्रिया प्रभावकारी नहुँदा दोषीले उन्मुक्ती पाउने गरेको सरोकारवालाहरुले बताएका छन् । महान्यायधीवक्ताको कार्यालयले चितवनको रत्ननगरमा सोमवार आयोजना गरेको सरकारी वकिलहरुको क्षेत्रीय वार्षिक कार्य समीक्षा तथा अनुशिक्षण कार्यक्रममा न्यायधिवक्ताहरुले अनुसन्धान प्रभावकारी बनाउनु पर्ने बताए ।
कार्यक्रममा नायब महान्यायधीवक्ता दुर्गाबन्धु पोखरेलले पीडितलाई न्याय दिलाउन वैज्ञानिक र प्रमाणमुखी अनुसन्धान आवश्यक रहेको बताए । अनुसन्धान प्रभावकारी बनाउन सरकारी वकिल, जिल्ला बार र प्रहरीबीच समन्वय हुनुपर्ने नायब महान्यायधीवक्ता पोखरेलको भनाइ छ ।
उक्त कार्यक्रममा चितवनका जिल्ला न्यायाधीस टेकनारायण कुँवरले समन्वयको अभावका कारण दोषीले उन्मुक्ती पाउने गरेको उल्लेख गरे । जनशक्ति कम हुने हुँदा कुनै–कुनै मुद्दामा सरकारी वकिल सारै कमजोर हुने गरेको उल्लेख गर्दै कुँवरले प्रभावकारिताका लागि अध्ययनशील हुनु पर्ने जिकिर गरे ।
कार्यक्रममा बोल्दै चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकास सिंह, मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक पशुपति उपाध्याय, चितवन जिल्ला अदालत बार एसोशियसनका अध्यक्ष चुडामणि सापकोटा लगायतले अनुसन्धान प्रभावकारी बनाउनुपर्ने बताए । कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्दै नायब महान्यायधीवक्ता खगराज पौडेलले काममा आउने बाधा, अड्चन, दुबिधा, पारिश्रमिक, सेवा शर्त आगामी आर्थिक वर्ष २०७३÷०७४ को साउनदेखि सुरु हुने दोश्रो पञ्चवर्षिय रणनीतिक योजनाबाट पारित गरिने जानकारी दिए ।
नायब महान्यायधिवक्ता राजेन्द्र सुवेदीको अध्यक्षतामा भएको सो कार्यक्रममा चितवनका जिल्ला न्यायधीवक्ता मणिराम न्यौपानेले स्वागत मन्तव्य राखेका थिए । दुई दिन चल्ने कार्यक्रममा पूर्वाञ्चल, मध्यामाञ्चल र पश्चिमाञ्चलका सरकारी वकिल, अनुसन्धान अधिकृतहरुको सहभागिता रहेको छ ।