छात्राहरुलाई सेनेटरी प्याड वितरण

चितवन, १६ चैत । एस.एल.सी परीक्षा दिन लागेका छात्राहरुको लागि सोमबार सेनेटरी प्याड वितरण गरिएको छ । एस.एल.सी परीक्षको समयमा महिनावारी भएका छात्राहरुलाई हुने असहजतालाई मध्यनजर गर्दै सेनेटरी प्याड वितरण गरिएको हो ।
जिल्ला शिक्षा कार्यालय चितवनको आयोजनामा भएको कार्यक्रमलाई समृद्ध महिला विकास केन्द्रले समन्वय गरेको थियो भने भरतपुर उपमहानगरपालिकाले सहयोग गरेको थियो । एस.एल.सी परीक्षा सञ्चालनको लागि चितवनका तोकिएका विभन्न ३९ वटा केन्द्रका केन्द्राध्यक्षहरुलाई हात धुने सावुन सहित सेनेटरी प्याड उपलब्ध गराइएको छ ।
कार्यक्रममा भरतपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेश बरालले छात्राहरुको समस्यालाई सम्बोधन गर्दै कार्यक्रमको आयोजना गरिनु सकरात्मक काम भएको बताए । समृद्ध महिला विकास केन्द्रकी अध्यक्ष विनिता चापागाईँले महिनावारीको समस्या सुन्दा सानो भएपनि यसले छात्राहरुलाई अप्ठेरोमा पार्ने हुँदा सेनेटरी प्याड वितरण गरिएको बताइन् । परीक्षाको समयमा महिनावारी भएका छात्राहरुको सहजतालाई ध्यानमा राखिएको चापागाईँको भनाई छ ।
चितवनका विभिन्न ३९ वटा परीक्षा केन्द्रमा गरी २० हजार रुपैयाँ बराबरको सेनेटरी प्याड तथा हात धुने साबुन वितरण गरिएको चापागाईँले बताइन् ।
कार्यक्रमका प्रमुख अतिथि चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकास सिंहले छात्राहरुको समस्यालाई ध्यानमा राखेर सेनेटरी प्याड वितरण गर्नु राम्रो भएको बताए । यसैबीच, चितवनका जिल्ला शिक्षा अधिकारी गोविन्द प्रसाद अर्यालले चितवनका सबै केन्द्राध्यक्षहरुलाई मर्यादित ढंगबाट परीक्षा सञ्चालन गराउन पनि आग्रह गरेका छन् । कार्यक्रम चितवनका जिल्ला शिक्षा अधिकारी गोविन्द प्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो ।