नयाँ शक्तिको ताजा रक्तसमूह गठन

भरतपुर, १६ चैत । नयाँ शक्ति नेपाल खैरहनी नगर युवा परिषद्ले ताजा रक्तदाता समूह निर्माण गरेको छ । युवा परिषद्ले सोमबार भरतपुरको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा क्यान्सरका बिरामीलाई ताजा रगत प्रदान गर्दै समूह निर्माण गरेको हो ।
जिल्लामा रहेका विभिन्न रक्त समूहका युवाहरुलाई संगठित गर्दै ताजा रक्तदाता समूह तयार परिएको नगर कमिटी अध्यक्ष रमेश कुमार खड्काले जानकारी दिए । हाल विभिन्न रक्त समूह भएका ५५ जना रक्तदाताहरुलाई समूहमा समावेश गरिएको खड्काले जानकारी दिए । कुनै पनि बिरामीलाई ताजा रगत आवश्कता परेको खण्डमा आफूहरुलाई सम्पर्क गर्न अनुरोध गर्दै खड्काले दुई घण्टा भित्रमा रगत उपलब्ध गराउने प्रतिबद्धता समेत जनाए ।
ताजा रगतको आवश्यकता पर्ने व्यक्तिले क्यान्सर अस्पतालमा रहेको ब्लड बैंकमा वा अस्पताल प्रशासनमा सम्पर्क राखेमा आफूहरुले जानकारी पाउने र ताजा रगत उपलब्ध गराउन सकिने खड्काले बताए । उक्त कार्यक्रममा नयाँ शक्ति नेपाल चितवन शाखाका संयोजक रमेश रेग्मीले नयाँ रक्तदाताहरुलाई समूहमा आवद्ध भएर ताजा रगत प्रदान गर्दै बिरामीको ज्यान जोगाउन आग्रह गरे । स्वास्थ्य क्षेत्रमा नेपाली जनताले समस्या भोग्दै आएका र थोरै हदसम्म भएपनि बिरामीलाई राहत दिने उद्देश्यले युवा संगठनले उक्त अभियान सञ्चालन गरेको रेग्मीले बताए ।
नयाँ शक्ति नेपालका युवा परिषद् संयोजक प्रताप पौडेलले ताजा रगत उपलब्ध गराउने आफूहरुको अभियानमा सबैलाई सहयोग गर्न अपिल गरे । नगरबाट सुरु गरिएको अभियानलाई जिल्लाव्यापी बनाउदै नेपाल भरी सञ्चालन गर्ने पौडेलको भनाइ थियो । उक्त कार्यक्रम मार्फत रमेश रेग्मी लगायत तीन जना रक्तदाताले तीन जना बिरामीलाई ताजा रगत उपलब्ध गराएर कार्यक्रम शुभारम्भ गरेका थिए ।