सौर्य उर्जामा अनुदानको माग

रत्ननगर, १६ चैत । नेपालमा विद्यामान उर्जा संकटको सामना गर्न सरकारले सौर्य उर्जामा अनुदान दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् । रत्ननगर उद्योग वाणिज्य संघले आयोजना गरेको सोलार उर्जाको प्रयोग सम्बन्धी अन्र्तक्रिया कार्यक्रममा उनीहरुले सरकारले अनुदानको व्यवस्था गर्ने सके नेपालमा सोलार उर्जाको प्रयोग बढाउन सकिने बताएका हुन् ।
उद्योग, व्यवसाय तथा अस्पतालहरुमा सोलार उर्जा प्रयोग गर्न सकिने सम्भावन भएपनि विदेशबाट खरिद गरेर ल्याउँदा महङ्गो पर्ने भएकाले यस तर्फ ध्यान जान नसकेको उनीहरुको भनाइ रहेको थियो । कार्यक्रममा सांसद शेषनाथ अधिकारीले सोलार उर्जामा सरकारी अनुदान आवश्यक रहेको भन्दै यसको लागि आफूले पहल थाल्ने बताए । बढ्दो लोडसेडिङका कारण अब नेपालमा सौर्य उर्जा प्रयोग गर्नुको विकल्प नरहेको अधिकारीको भनाइ रहेको छ ।
अहिलेको उर्जा संकटका लागि मात्रै नभएर दीर्घकालीन रुपमा सोलारको प्रयोगले आम जनतालाई फाईदा हुने अधिकारीले बताए । ‘हाम्रो जस्तो विकासोन्मुख देशका लागि अहिलेको महत्वपूर्ण उर्जा भनेको नै सौर्य उर्जा हो’ अधिकारीले भने । सरकारले अबको नीति तथा कार्यक्रममा सौर्य उर्जालाई विशेष व्यवस्था सहित राख्नुपर्नेमा अधिकारीले जोड दिए ।
कार्यक्रममा नेपाल पोल्ट्री व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष गुणचन्द्र बिष्टले उद्योग व्यवसायमा सोलार उर्जा प्रयोगका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने बताए । कार्यक्रममा सोलार विज्ञ स्विटजरल्याण्ड नागरिक अलेसेन्ड्रो मेडिकीले सोलारको प्रयोग र उत्पादको वारेमा जानकारी गराएका थिए । संघका अध्यक्ष ज्ञानबहादुर विसुरालको अध्यक्षतामा भएको सो कार्यक्रममा शान्ति मेड नेपालकी अध्यक्ष डा.रुथ गोनसेथ, संघका महासचिव देवेन्द्र कुमार श्रेष्ठ लगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published.