स्वच्छ मासु बेच्न आग्रह

चितवन, १६ चैत । नेपाल सरकारको कार्यक्रम अनुसार स्वच्छ तथा सफा मासु अभियान सञ्चालन गर्नको लागि चितवनमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।
चितवनका मासु व्यवसायीहरुले उपभोक्तालाई अस्वस्थ्यकर मासु उपलब्ध गराएको जनगुनासो आएको सन्दर्भमा कार्यक्रम प्रभावकारी हुने विश्वास लिइएको छ । चैत १४ देखि सञ्चालन गरिएको स्वच्छ तथा स्वस्थ मासु अभियान कार्यक्रम २० गतेसम्म सञ्चालन हुनेछ । अभियान अन्तर्गत स्वच्छ मासु कसरी उपलब्ध गराउने भन्नेबारेमा मासु व्यवसायी तथा उपभोक्ता र सरोकारवालाहरुसँग छलफल गरिने जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख वरिष्ठ पशु चिकित्सक रामकुमार कार्कीले बताए ।
अभियानका क्रममा प्रत्येक मासु पसलहरुमा अनुगमन समेत गरिने कार्कीको भनाइ छ । जिल्ला पशु सेवा कार्यालय चितवन र जिल्ला प्रशासन कार्यालय चितवनको आयोजनामा भएको कार्यक्रममा जिल्लाका सरोकारवालाहरुको उपस्थिती रहेको थियो । छलफलमा सहभागीहरुले चितवनमा खुलेआम दुषित मासु विक्री हुदा समेत प्रशासन मौन रहेको उल्लेख गरेका छन् । प्रशासन कमजोर भएको र कारबाही प्रकृया फितलो भएका कारण मासु व्यवसायीहरुले दुषित मासु विक्री गर्दै आएको उपभोक्ताहरुको गुनासो रहेको छ ।
नारायणगढको लायन्सचोकमा रहेका मासु पसलहरुले वातावरण नै प्रदुषित बनाउँदा समेत उपमहानगरपालिका र प्रशासन कार्यालय मौन रहेकोमा उपभोक्ताहरुले आक्रोश व्यक्त गरे । अस्वस्थकर मासु विक्री गर्ने विक्रेताहरुलाई कारबाही गर्ने गरिएको खाद्य निरीक्षक नविन देउजाले बताए । प्रशासनबाट अनुगमन भइरहेको र अनुगमनका क्रममा कसैले गलत गरेको भेटिएमा तत्काल कारबाही गरिने समेत देउजाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published.