नेपाली ‘हरि’हरू सक्छौ ह्यारी बन्न ?

पेशल आचार्य 
नेपालको राजनीति विगत् सात दसकदेखि गोल चक्करमा घुमिरहेको छ । यो वृत्तमा घुमिरहेको समाज र अधोगतिमय संस्कारका कारण हामी नेपालीहरू जेजस्ता अब्बल खालका राजनीतिक सिष्टमहरू ल्याएर पनि देशीय रूपमा कुनै वैज्ञानिक विकासका गोलहरू चुम्न सकिरहेका छैनौं ।

पेशल आचार्य
पेशल आचार्य

– हामीसँगै हिँडेका देश र संस्थाहरू विश्व रङ्गमञ्चमा कहाँबाट कहाँ पुगे । हामी अन्तर्विरोध र खुट्टा तान्ने राजनीतिक खेलका कारण जहाँको त्यहीँ बसेका छौं । अझ पछि सर्दै छौं । हामीले आफ्नो भाग्य र भविष्य त बनाउन सकेनौ सकेनौं पछि आउने नयाँ सन्ततिका भाग्य र भविष्यलाई पनि गोलचक्करमा फँसाइदिएका छौं । यो अक्षम्य अपराधको हामीले सार्वजनिक रुपमै माफी नमागेसम्म इतिहासले हामीलाई क्षमादान दिन सक्ने छैन ।
– नेपाली राजनीतिको यो कुसंस्कारमय गोल चक्करमा अहिलेसम्म नेपालमा क्रियाशील नेपाली राजनीतिक पार्टीहरू नै सक्रिय रुपले लागिरहेका छन् । उनीहरूले आफ्नो चुनावी घोषणापत्रमा राखेका विकास निर्माण र सामाजिक संस्कारका विकासे कुराहरूलाई चुनावका परिणाम आफ्ना पोल्टामा आइसकेपछि छेपाराले हिँउदका दिनमा न्यानो घामले सेकिँदा घर बनाउने सपना बिर्सिए जसरी बिर्सिएका छन् ।
– राजनीति लक्ष्य राखेर गरिएन । वाद, विवाद, प्रतिवादमा अल्झियो । रेलियो । आग्रह, विग्रह, पूर्वाग्रह र दुराग्रहका कारण यहाँ धेरै राजनीतिक पुस्ता नेपाली राजनीतिक बजारमा निकम्मा भएर गइसके । अझै कति पुस्ता यसैगरी ‘स्याक’ हुने हो त्यो यकिनसाथ भन्न सकिने अवस्था छैन । किनकि अझै नेपालको संक्रमण काल यो वा त्यो बहानामा सकिएको छैन । Hyari prince
– राणाहरू सनकले शासन गर्थे । त्यसैले तिनीहरूको भविष्य नेपालमा हुने कुरा भएन । गए । बेलैमा इतिहास भए । पछि राजाहरू पञ्चायतको शेरगुल खिलाउँदै आए । उनीहरूले पनि बेला न कुबेला कहिले ‘नेपाललाई एसियाली मापदण्डमा पु¥याउने’ कहिले ‘शान्ति क्षेत्र घोषणा गर्ने’ भनेर अनेक नाराका ‘गुलुप’हरू खिलाए । सपनामा रमाउने बानी परेका आसे र गरिब जनता त्यसैका लागि तालीका भागी भए ।

रहँदाबस्दा पञ्चायत पनि इतिहास भएको तीन दसक लाग्न आँट्यो ।
–त्यसपछि आयो जन्तीको हूल झैँ प्रजातन्त्रको भीड । यो गर्छौं । त्यो गर्छौं । गरिबी हटाउँछौं भन्दै सयौं आन्दोलनहरू गरिए । न त गरिबी घट्यो न गरिब नै कमि भए । बरु गरिबको हितका लागि भनी गरिब गरिबमा मारकाट र दूराग्रह राख्ने पोलिसी अख्तियार गरे । समाजमा अनेक बखेडा र तिकडम् झिके । आकासको तारा नै झारूँला झैँ गरेर सिण्डीकेटमय पार्टी राजनीति र कामदारका बीचमा ‘युनियनिजम्’ खडा गरे । गराए । जुधे तारुकामा गोरु जुधेझैँ । नेपाल बन्द गराए । कुनैले पनि नेपाल खुल्ला राखेर आन्दोलन गर्ने नयाँ सिर्जनात्मक आन्दोलन गरेनन् । भेजामा सबैका ‘डिस्ट्रक्सन’ थिए ‘कन्सट्रक्सन’ थिएनन् । जोसँग जे छ आखिर त्यही दिने हो ।
– उत्पादन, अर्थ, उद्योगधन्दा, कलकारखाना सबै दारी खौरिएझैँ सफाचट बनाइदिए । नेपाली गरिबका छोराछोरीले परिश्रम गर्ने स्थान नै नरहेपछि पढेका विकसित मुलुकतर्फ र नपढेका खाडी र मलेसिया तर्फ धपाइए । देश एक प्रकारले आयातमुखी भयो । ऊर्जा अर्काका देशमा खपत भैरह्यो । परिणामतः अरब बन्यो । मलेसिया विकसित भयो । कोरियाले तरक्की गर्यो । थाइल्याण्ड अकासियो ।
– यता देशमा चाहिँ पारिवारिक विखण्डन, क्लेश, अशान्ति र कलहले स्थायी रुपमा घर गरेको दसकौं भयो । न चिन्ता कसैसँग छ । न चासो कसैले राखेका छन् । रेमिट्यान्समा दाइँ भएको छ –मुलुक । देशमा अझै सियो बन्दैन । जहाज बनाउने कहिले ?
– कहिले माओवादी आन्दोलन, कहिले मधेशवादी आन्दोलन, कहिले थारुवान आन्दोलन र कहिले अखण्ड आन्दोलनका नाम भँजाएर संविधान सभाका गद्दामय कुर्सी र सत्ताका तर खान पुगे धेरै टाठा र बलिया बाङ्गाहरू ।

मनि, मसल्स र माउजरमा राजनीति टाक्सियो । दर्शन बयेलिए । डनहरू मसिहा बने ।
– नेपालमा सबै उल्टापुल्टा हुन्छन् । यहाँ हुने कम र नहुने काम बढी हुन्छन् । पञ्चायत खेप्नै नसक्ने भएर देशमा प्रजातन्त्र आएथ्यो । रहँदाबस्दा प्रजातन्त्र चर्को भएर लोकतन्त्र आयो । लोकतन्त्रमा पनि अनेक खाले नुन चर्को हाले नेताहरूले । अनि गणतन्त्र आयो । अहिले देख्दादेख्दै यो गणतन्त्र पनि जनताका लागि आयोडिनको कमिले हुने घाँटीको गलगाँड सावित होला कि भन्ने चिन्ताले सताएको छ ।
– भयातुर छन् –भूकम्पपीडितहरू । आक्रान्त छन् –कथित अकथित नाकाबन्दी पीडितहरू । गरी खाने र गरिबहरूको त कुरै गरी साध्यै छैन । यसबीचमा कालाबजारी र कालो मन भएका मनुवाहरूको आय र फूर्ति नै बेग्लै भयो । शासकको सान र शासितको मानमा अहिले आकास पातालको फरक देखिएको छ ।
– यस्तो सन्दर्भ पारेर अहिले बेलायतका ह्यारी नेपाल आएका छन् । उनी त्यहाँका राजकुमार । उसो त नेपालमा पनि पुरानिएका राजकुमारहरू र नयाँ संस्करणका राजकुमारहरूको कुनै कमि छैन । फार्ती र फूर्तिमा रम्रिएका छन् –हाम्रा नेपाली राजकुमारहरू । तर बेलायतका ह्यारी नेपाली आउँदा मात्रै ह्यारी थिए । पाँचै÷छयै दिनको बसाइमा उनी अनुवाद भएर ‘हरि’ भैसके ।

तब त मानिसहरू कुलको छोरो र मूलको पानी भन्छन् ।
– हाम्राले कराए । कटुटु छेरुन्जेल कराए । उनले गरेर देखाए । पाँचतारे होटेल र सुखसयलमा उनी रम्रिन सकेनन् । उनलाई गाउँको गुन्द्रुक र ढिँडोरोटो दामी लाग्यो । उनले होली खेले अबिरको । हाम्रा राजकुमारहरू दिनहूँ रगतको होली खेल्छन् । उनी धर्ममा क्रिश्चियन हुन् । तर पनि उनले रातो टीका निधारमा टलक्क टल्कने गरी लगाए । बगानबेलिया फूलको माला लगाए । पिँठिउँमा खागी रङ्को झोला आफैँले बोके । रोधी नाँचे । पराले र पाले झुप्रामा बास लिए । न पाश्र्ववर्ती न गोली गठ्ठा ।
– उनलाई फूँई छाट्नु छैन । धमास देखाउनु छैन । क्लब र डिस्को जानु छैन । केवल नेपाल र नेपालीको मन जित्नु छ । सो गरे । उनले जे मनले भन्छ त्यो गरे । अझै केही दिन बस्ने मनसुवा गर्दैछन् ।
– स्याबास् ह्यारी । ह्यारी तिमी किन नेपालमा ‘हरि’ भएर नजन्मेको ? विदेशबाट धेरै युवाले एकैसाथ फेसबुकमा चिठी लेखे । त्यो अहिले सामाजिक सञ्जालमा भाइरल पनि भयो । खुसी छन् –नेपालीहरू ह्यारीको व्यवहारले । कार्यले । बोलीले । ह्यारीसम्म सो पहूँच हुन सक्छ या सक्दैन । त्यो भन्न सकिन्नँ तर उनले जुन सादगी र विनयशीलता देखाए त्यसले हाम्रा भूपू र वर्तमान ह्यारीहरूलाई कुरी कुरी लागेकै छैन । जसका मनमा ‘हरि’ (देवता) हुन्छ त्यसलाई छुने हो । तर जसका मनमा ‘हरी’ (स्वान याने कुकुर) हुन्छ त्यसलाई के छोओस् । कताबाट छोओस् ?
– बेलायतमा कहिल्यै राजसंस्था समस्या भएन । बरु समाधान भयो । नेपालमा यसलाई समस्याका रुपमा चित्रण गरेर उन्मुलनै गरिछाडियो । अहिले फेरि तीन न तेह्रको बहस गरी ब्यूँताउने कुप्रयास गरिँदैछ ।

यो नेपालका लागि शोभनीय पक्कै होवैन ।
– हामी यति मात्र भन्न सक्छौं । नेपालमा सत्ता र शक्तिमा विराजमान ह्यारीहरूले बेलायती हरिझैँ हुन सक्नुपर्छ । भनिन्छ नि –‘आवश्यकताले संसारका बडेबडे शेरहरूलाई पनि पानी खान खोलामा जाँदा शिर झुकाउन बाध्य पार्छ ।’ यो ह्यारीका सन्दर्भमा होइन नेपाली ‘हरि’ हरूलाई भनिएको हो ।
– नेपाली हरिहरू हो तिमीहरू पनि बेलायती ह्यारी बन । हेर । सिक । अनि गर ।