मारवाडी लिग अन्तर्गत नारायणगढमा आज पनि दुई वटा खेल

नारायणगढ, १४ चैत
नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको आयोजनामा भइरहेको दोस्रो राष्ट्रिय मारवाडी क्रिकेट लिग अन्तर्गत आज पनि दुई वटा खेल हुँदैछन् ।
नारायणगढको क्याम्पा चौरमा सञ्चालन भइरहेको मारवाडी लिगमा आजको पहिलो खेल नौ बजेदेखि सञ्चालन हुँदैछ । पहिलो खेलमा नेपालगञ्ज र भैरहवा प्रतिष्पर्धा गर्ने पश्चिम क्षेत्रका खेल संयोजक नितेश महेश्वरीले जानकारी दिए । त्यसैगरी, प्रतियोगिताको दोस्रो खेल आज दिउँसो जनकपुर र हेटौंडाबीच हुने महेश्वरीले बताए ।
चैत १३ देखि सञ्चालन भएको नेपाल मारवाडी क्रिकेट लिग–२ बिराटनगर र नारायणगढमा लिग चरणका खेलहरु भइरहेका छन् । बिराटनगरमा पूर्व क्षेत्रका छ वटा टिमहरु सहभागी छन् भने नारायणगढमा पश्चिम क्षेत्रका छ वटा टिमहरु सहभागी रहेका छन् ।
नारायणगढमा सञ्चालन भइरहेको प्रतियोगिताको विजेता बिराटनगरमा भएको प्रतियोगिताको विजेतासँग चैत १२ गते प्रतिष्पर्धा गर्नेछ । दुवै ठाउँका विजेताले चैत २२ गते बिराटनगरमा फाइनल खेलमा प्रतिष्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेताले ७५ हजार रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने संगठनका केन्द्रीय अध्यक्ष कञ्चनकुमार अग्रवालले बताए । उप विजेताले भने ३१ हजार रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने अग्रवालले जानकारी दिए ।
पश्चिम क्षेत्र अन्तर्गत नारायणगढमा भएको खेलमा जनकपुर, हेटौंडा, चितवन, भैरहवा, नेपालगञ्ज र धनगढीका मारवाडी युवा मञ्चले सहभागिता जनाएका छन् । प्रतियोगिता अन्तर्गत शनिबार भएको पहिलो दिनको खेलमा धनगढी र जनकपुर विजयी भएका छन् । उद्घाटन खेलमा धनगढीले नेपालगञ्जलाई पाँच विकेटले हराएको थियो भने दोस्रो खेलमा जनकपुरले चितवनलाई आठ विकेटले पराजित ग¥यो ।