पशुपालक किसानद्वारा १७ बुँदे घोषणापत्र जारी

चितवन, १३ चैत । राष्ट्रिय व्यवसायिक पशुपालन तथा दूध उत्पादक कृषक समाजको चितवनमा भएको प्रथम साधारणसभा १७ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ ।

भरतपुरमा शुक्रबार भएको साधारणसभाले समृद्ध नेपालको आवश्यकता, पशुपालन दूध उत्पादनमा व्यवसायिकता भन्ने नारालाई सार्थकता प्रदान गर्न विभिन्न १७ बुँदे घोषणापत्र जारी गरेको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । साधारणसभाले सरकारसमक्ष अनुपात्दक पशुको व्यवस्थापन गर्नुपर्ने, विदेशबाट आयात हुने दूध पदार्थलाई निरुत्साहित गर्नुपर्ने माग अगाडि सारेको छ ।

त्यसैगरी, दशवटा भन्दा कम पशु पाल्दै आएका किसानलाई एक प्रतिशत व्याजदर, १० वटा भन्दा बढी पशु पाल्ने किसानलाई एक करोड रुपैयाँसम्मको कर्जा दुई प्रतिशत ब्याजदरमा र एक करोड भन्दा बढी रकम तीन प्रतिशत ब्याजदरमा उपलब्ध गराउनुपर्ने समाजको माग रहेको छ । पशु पालन क्षेत्रमा लगानी बढ्न नसकेको अवस्थामा किसानहरुले परियोजना र विमित पशुको मूल्यांकन गरी बैक तथा वित्तिय संस्थाले लगानी गर्नुपर्ने, व्यवसायिक कृषक परिचयपत्र तत्काल लागूगर्नुपर्ने माग गरेका कछन् ।

त्यसैगरी, व्यवसायिक फार्महरुमा प्रयोग हुने उपकरण तथा भौतिक पूर्वाधारमा ७५ प्रतिशत अनुदानको व्यवस्था हुनुपर्ने किसानहरुले माग गरेका छन् । चरन क्षेत्रको अभाव भइरहेको वर्तमान अवस्थामा सरकारले चरन नीतिको विकास र कार्यान्वयन गर्न समेत किसानहरुको माग रहेको छ ।