दीर्घकालिन योजना सहित होमस्टे सञ्चालन गर्नुपर्ने

आनन्द पोखरेल
पटिहानी, १२ चैत । पर्यटन प्रवद्र्धन एवम् होमस्टे सञ्चालनको लागि पटिहानीमा आयोजित छलफल कार्यक्रममा दीर्घकालिन योजना सहित होमस्टे सञ्चालन गर्नुपर्ने बताइएको छ । चितवन पर्यटन विकास समिति र पटिहानी पर्यटन विकास समितिको संयुक्त आयोजनामा शुक्रबार भएको छलफल कार्यक्रमका वक्ताहरुले पटिहानी क्षेत्रमा होमस्टेको सम्भावना भएपनि सञ्चालनमा चुनौति समेत रहेको बताएका छन् ।
उक्त कार्यक्रममा भरतपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेश बरालले पटिहानी क्षेत्रमा ठूला ठूला होटल भएको ठाउँमा अध्ययन गरेर मात्र होमस्टे सञ्चालन गर्नुपर्ने बताए । अहिले नेपालमा सञ्चालनमा आएका होमस्टेहरु सरकारी मापदण्ड पुरा नभइ सञ्चालनमा आएका समेत बरालको भनाइ छ । यदि पटिहानी क्षेत्रमा होम स्टे सञ्चालनको लागि तयारी भएमा सामुहिक प्रतिवद्धता जरुरी रहेको र यसको प्रवद्र्धनमा आफूहरु सधैँ सहयोग रहने बरालले बताए । होमस्टे सञ्चालनपछि गुणस्तरीय सेवा प्रदान गरेमा भरतपुर उपमहानगरपालिकाले क्षमता विकास तालिम प्रदान गर्ने समेत बरालले प्रतिवद्धता जनाए । नगरपालिकाले वा अन्य संस्थाले चलाइदिएर होमस्टे नचल्ने बरालले बताए । समुदायले होमस्टे सञ्चालनको लागि तयारी सकेपछि नगरपालिकालाई आग्रह गरेमा नगरपालिकाको तर्फबाट प्राविधिक सहयोग गर्न आफू तयार रहेको बरालको भनाइ छ ।
शुक्रबार भएको छलफलका क्रममा जिल्ला विकास समिति चितवनका योजना शाखा अधिकृत टिकाराम कंडेलले चितवनको काउले, मेघौली र माडीमा होमस्टे सञ्चालनमा आइसकेका कारण त्यहाँबाट सीप लिएर नयाँ होमस्टेको लागि तयारी थाल्नुपर्ने बताए । चितवनमा पर्यटकको बसाईँ लम्बाउनको लागि छलफल चलेको र पर्यटकीय क्षेत्रमा पर्यटक भिœयाउन जिल्ला तहमा योजना बन्दै गरेको कंडेलको भनाइ छ ।
छलफलमा चितवन पर्यटन विकास समितिका महासचिव विश्व सुवेदीले पटिहानीमा पर्यटकीय गन्तव्यको लागि राष्ट्रिय निकुञ्ज, धार्मिक पर्यटनको लागि विक्रमबाबा र छितामाई, सांस्कृतिक पर्यटनको लागि थारु संस्कृति, कमल पोखरी, राप्ती किनारमा डुंगा सयरलगायतका सम्भावनाहरु भएको बताए । राष्ट्रिय निकुञ्जमा निजी हात्तीहरु प्रवेश नपाउने भएकाले पटिहानी क्षेत्रको लागि कम्तीमा पनि चार वटा सरकारी हात्तीको दरबन्दी गराउनुपर्ने सुवेदीको भनाइ थियो । पछिल्लो समय होमस्टे फेसनको रुपमा आएकाले परम्परागत परिकारहरु तयार गर्नबाट चुकेको अवस्थामा होमस्टे धरापमा पर्ने सुवेदीको भनाइ थियो । चितवन राष्ट्रिय निकुञ्जले ओगटेको चार वटा जिल्लाको पर्यटकीय गन्तव्यको अध्ययनको काम भइरहेको समेत सुवेदीले बताए ।
कार्यक्रममा पर्यटन पत्रकार मञ्च चितवनका अध्यक्ष सूर्यप्रकाश कंडेल, नेपाली काँग्रेस पटिहानीका कुमार प्रसाद थपलिया, नेकपा एमाले पटिहानीका गंगाबहादुर गौतम, एकीकृत माओवादीका समुन ढकाल, बेलशहर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टेकनाथ तिमिल्सीना लगायतले मन्तव्य राखेका थिए । पटिहानी पर्यटन विकास समितिका अध्यक्ष खेम भट्टको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शंकर थपलियाले स्वागत मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published.